काठमाडौँ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तर्क्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
युथ समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी हुनाका साथै देशभरका पाँच सयभन्दा बढी युवाले सहभागिता जनाएको संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिए ।
देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा काम गरिरहेका, ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवालाई एउटै मञ्चमा ल्याएर समिट आयोजना गरिएको शाहीले बताए ।
दुई दिनसम्म चलेको समिटको पहिलो दिन शुक्रबार आयोजित उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामा, रीता शाहीलगायतको सहभागिता रह्यो ।
समिटमा उद्यमी विदुषी राणा, खेलाडी पलेशा गोवर्धन, व्यवसायी भरत ढकाल, बैंकर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, वरिष्ठ पत्रकार दिलभूषण पाठकलगायत विभिन्न क्षेत्रका युवा, विज्ञ, उद्यमी, युवा नेता, चलचित्रकर्मी, लेखक अभियन्ता, जनप्रतिनिधिलगायत पाँच सयभन्दा बढीको सहभागिता थियो ।
अन्तर्क्रिया, बहस र छलफलमार्फत सातबुँदे घोषणापत्र जारी गर्दै समिट सम्पन्न भएको संयोजक शाहीले जानकारी दिए ।