• Menu

पर्वतमा एक करोडभन्दा बढीको लगानीमा बनेको वायु ऊर्जा आयोजना दुई दशकदेखि अलपत्र

नेपाल प्रफिट

२०८१ भदौ ३१, सोमबार १५:३९

पर्वतमा एक करोडभन्दा बढीको लगानीमा बनेको वायु ऊर्जा आयोजना दुई दशकदेखि अलपत्र

पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका-६ फलाम खानीमा करोडौँ रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो ।

दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय-समयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।

लथालिंग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । २०६० सालमा स्थापना भएको केन्द्र २०६३ सालमा नै बन्द भएको थियो ।

टिटिविजी नामक संस्थाले एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ ।

फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो ।

वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताए ।

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक ‘रिपोर्ट’अनुसार नेपालमा ३ हजार मेगावाट विद्युत हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हँदै आएको थियो ।

वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब ३ सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ ।

महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताए । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्