• Menu

गण्डकीमा ११ लाख १६ हजार स्वास्थ्य बिमामा आबद्ध, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा

नेपाल प्रफिट

२०८१ भदौ २३, आइतबार १६:४६

गण्डकीमा ११ लाख १६ हजार स्वास्थ्य बिमामा आबद्ध, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा

कास्की । गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बिमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बिमाको सेवा उपलब्ध गराएको छ ।

प्रदेशभित्र महिला स्वयंसेविकाका ४ हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइएको उनले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रदेश सरकारले ५० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बिमाबापतको रकम भुक्तानी गर्दै आएको छ ।

सरकारले प्रदेशभित्रका ‘क’ वर्गका अपांगता भएका ५ हजार १४५ परिवारका साथै एचआईभी संक्रमित २ हजार १४७ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराएको छ । एक लाख बराबरको स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले ३ हजार ५ सय बुझाउनुपर्ने र त्यसभन्दा बढी सदस्यको हकमा प्रति व्यक्ति थप ७ सय रुपैयाँ बुझाउनुपर्छ ।

बिमालाई प्रभावकारी बनाउँदै त्यसको दुरुपयोग नहोस् भन्ने हेतुका साथ बिमामा आबद्ध भएका व्यक्तिले सरकारी अस्पतालमा कुल औषधोपचार खर्चको १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत भुक्तानी बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्