• Menu

पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशालाई एनसेलले १० लाख नगदसहित सम्मान गर्ने

नेपाल प्रफिट

२०८१ भदौ १९, बुधबार १२:१४

पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशालाई एनसेलले १० लाख नगदसहित सम्मान गर्ने

काठमाडौं । पारालिम्पिक्समा नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशको प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मान स्वरुप निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले नगदसहित सम्मान गर्ने भएको हो ।

एनसेलले पलेशालाई १० लाख तथा अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई १० लाख प्रदान गर्ने घोषणा गरेको छ ।

एनसेलले गत वर्षदेखि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी)सँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग गर्दै आएको छ ।

‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा सुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाइमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउँछु भन्ने सोचेकै थिइन । मैले सपना देख्ने हिम्मत गरेँ र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ,’ पलेशाले भनिन् ।

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव भएको बताए ।

‘यो उपलब्धि नेपाल र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो,’ उनले भने, ‘एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।’

एनसेलले सेवा सञ्चालनको १८औं वार्षिकोत्सवकf अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।

यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्