• Menu

मोरङका पत्रकारले पाउने भए कोरोना बिमाको भुक्तानी, युनाइटेड अजोडले पठायो पैसा

नेपाल प्रफिट

२०८१ भदौ १९, बुधबार ११:५०

मोरङका पत्रकारले पाउने भए कोरोना बिमाको भुक्तानी, युनाइटेड अजोडले पठायो पैसा

मोरङ । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बिमाबापतको रकम भुक्तानी पाउने भएका छन् ।

कोरोना बिमाबापतको भुक्तानी पाउन बाँकी रहेका उनीहरुले जनही एक लाख रुपैयाँका दरले भुक्तानी पाउने भएका हुन् । बिमा कम्पनीले उक्त रकमबराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई उपलब्ध गराएको छ ।

महासंघका सदस्यहरूको कोरोना बिमाबापतको दाबी भुक्तानी नपाएपछि महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।

कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । बिमा अवधिसम्म संक्रमित भएकामध्ये २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए ।

२०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परमादेश दिएको थियो ।

अदालतको अवहेलना मुद्दा दर्ताअघि उच्च अदालत विराटनगरले वैशाख २५ गते आदेशबमोजिम भुक्तानीका लागि बिमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै असार १० गते मुद्दा दर्ता गरेको थियो ।

उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्दामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय ममता खनाल र सूर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले पत्रकार महासंघ मोरङको मागबमोजिम अदालतको अवहेलनामा कारबाही गर्नु नपर्ने आधार र कारण भए प्रमाणसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न उच्च अदालतले आदेश दिएको थियो ।

उच्चको आदेशबमोजिम बिमा कम्पनी र नेपाल बिमा प्राधिकरणले लिखित जवाफ पेस गरिसकेका छन् । अदालतको अवहेलनामा कारबाही मुद्दाको फैसला आउनुअघि नै बिमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी पठाएको हो ।

साउन २२ गते पत्रकार महासंघ मोरङको समन्वयमा नेपाल बिमा प्राधिकरणसँग महासंघ कार्यालयमा गरिएको अन्तर्क्रियामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बिमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्