• Menu

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १०:३१

सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
तस्बिर सप्तकोशी ब्यारेज ।

काठमाडौँ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला-साना पक्की र झोलुंगे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकले बताएका छन् ।

बाढीबाट खुर्कोट बसपार्क डुबेको छ भने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ भने धानबाली नष्ट भएको छ ।

सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए ।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले जानकारी दिए ।

प्रभावित क्षेत्रका विपदमा परेका नागरिकलाई राहत र उद्धारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ ।

भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्