• Menu

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, काठमाडौं उपत्यकाका अधिकांश स्थान डुबानमा, ठाउँ-ठाउँमा पहिरो

नेपाल प्रफिट

२०८१ असोज १२, शनिबार १०:३८

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, काठमाडौं उपत्यकाका अधिकांश स्थान डुबानमा, ठाउँ-ठाउँमा पहिरो

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएको छ भने हवाई उडान पनि स्थगित भएका छन् ।

काठमाडौं उपत्यकाका अधिकांश स्थान डुबानको चपेटामा परेका छन् । बाढी र पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ । तराईमा डुबान र पहाडीमा पहिरोको त्रासदीमा मानिसहरु बस्न बाध्य भएका छन् ।

केन्द्रीय सुरक्षा समितिको बैठक

गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार बिहान १०:३० बजेका लागि बैठक बोलाइएको हो ।

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएका हुनु । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन् ।

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी ५ वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् ।

हवाई उडान प्रभावित

निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।

विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी तीनसय १६ उडान तालिका रहेकामा २३८ हाराहारी उडान रद्द भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो ।

धादिङबेसी मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।

कोशी ब्यारेज ।

कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह

निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पहिरोले घर पुरिँदा दुईको मृत्यु

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो ।

घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए ।

पहिरोले स्याफ्रुरसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए

निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु–रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् ।

काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट काठमाडौँका लागि मालवस्तु बोकी आएका मालवाहक सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

कुटी र धर्मशालामा बस्नेको उद्धार

नारायणी नदीमा पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ । गए राति १:३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन उनले अनुरोध गरे ।

पहिरोले सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै शनिबार बिहान आएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

प्रमुख जिल्ला अधिकारी चितवनका इन्द्रदेव यादवका अनुसार बिहान ४ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको उनले जानकारी दिए ।

यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेको उनले बताए । यादवका अनुसार सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ । निरन्तरको वर्षाका कारण सडक भासिन पुगेको हो ।

कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए ।

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।

काठमाडौं, भक्तपुर र ललितपुरको संगमस्थल ।

केही नदीमा जलसतह खतरास्तर नजिक

अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराको स्तर नजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ ।

अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।

ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो

ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ ।

विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ ।

त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ ।

नागढुंगा ।

नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान १:४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।

उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

खोलाले बगाएर तीन जना बेपत्ता

लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो । यसैगरी, गौरीगन्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।

शुक्रबार अपराह्न करिब ४ बजे गौरीगन्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजीमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ ।

खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०:१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ ।

ब्लु इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

अधिकांश सडकहरू अवरुद्ध

निरन्तरको वर्षाका कारण पाँचथरमा मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण उत्तर–दक्षिण तमोर कोरिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नाँवा खोलामा बाढी आएको छ ।

बाढीका कारण यो सडकमा बिहीबार सवारीका साधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो । शुक्रबार भने प्रहरीले उक्त सडक हुँदै सवारी नचलाउन सूचित गरेको छ । निर्माणाधीन यस सडकमा पर्ने खोलाहरूमाथि पुल बनिसकेका छैनन् । द्रूत मार्ग भएका कारण धेरै सवारीका साधनले यो सडक प्रयोग गर्ने गर्दछन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ स्थित मेवा खोलामा निर्माण गरिएको डाइभर्सनमा पानी सडकको तहमा आएपछि सडक अवरुद्ध भएको छ ।

सोही गाउँपालिका–३ रिजाल भिरमा समेत पहिरो झरेर यातायात अवरुद्ध भएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा सडक कालोपत्रको काम गरिरहेका निर्माण व्यवसायीले सडक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् ।

बाढीले गत वर्ष दोभानेस्थित सडक पुल तथा यस वर्ष याङवरक गाउँपालिका–३ ओयाममा तीनवटा सडक पुल बगाएपछि वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेको वडाध्यक्ष बिमल राईले बताए ।

यस्तै, भेडेटार–रबि–राँके सडकको गेलीभञ्ज्याङमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । उक्त सडक सञ्चालन हुन नसकेकाले तत्कालका लागि वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण पोल ढल्दा सर्लाहीको पूर्वक्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, जिल्लाको पश्चिमी क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।

जिल्ला सदरमुकाम मलङ्गवाभन्दा पूर्वी क्षेत्रमा पर्ने ब्रह्मपुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सबै वडामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिए । त्यस्तै, ईश्वरपुर नगरपालिका–१७ सुकनाहामा पनि विद्युत् सेवा अवरुद्ध भएको छ ।

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार शनिबार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीको समेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ ।

साथै भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

नारायणी नदीमा आएको बाढीले डुबानमा परेको बुद्धको मूर्ति ।

प्रतिक्रिया दिनुहोस्