• Menu

अन्तर्वार्ता

लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषका कतिपय कार्यक्रम मिल्दाजुल्दा छन्

रासस

२०८१ असोज ९, बुधबार १३:३७

लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषका कतिपय कार्यक्रम मिल्दाजुल्दा छन्

वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन् । राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साविकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका छन् । प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग राससका कृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

०००

कोषले २९औँ वार्षिक साधारणसभा केही समयअघि सम्पन्न गरेको छ । साधारणसभाले के सन्देश दिएको छ ?

कोषले हालका वर्षमा साधारणसभा नियमित रुपमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा असार मसान्तभित्रै सम्पन्न गरेको छ । यो कोषको २९औँ साधारणसभा हो । साधारणसभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

कोषको ३३ वर्षको इतिहास सन्तोषजनक छ । कोषले सेयरधनीलाई नियमित उचित प्रतिफल दिँदै आएको छ । एक करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । कोषले आव २०७९/८० वितरण गरेको बोनस सेयरपश्चात कोषको चुक्ता पुँजी ६ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

अहिले कोषले केकस्ता योजना सञ्चालन गरिरहेको छ ?

कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले सञ्चालन गरेका कार्यक्रममा कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बिमा कोषलगायतका योजना छन् । कोषले साना तथा मझौला स्तरका बचतकर्ताको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धिलगायतका योजना सञ्चालन गरेको छ ।

सार्वजनिक संस्थान र अन्य संगठित संघसंस्थालाई दीर्घकालीन दायित्व व्यवस्थापनका लागि क्रमिक रुपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्नेलगायतका कार्य गर्दै आएको छ । यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ । साथै, पुँजी बजारको विकासमा सघाउ पुग्नेगरी पुँजी बजारसम्बन्धी विभिन्न गतिविधिमा समेत कोष संलग्न छ ।

सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नुभएको छ ?

कोषले सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाबकिताबलाई चुस्तदुरुस्त राख्न अटोमेसनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ । कोषको काम कारबाहीलाई बढीभन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्वका साथ अघि बढाएको छ । यसबाट क्रमिक रूपमा कागजरहित सेवा बढाउँदै लान मद्दत मिल्नेछ । हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सीआईटी स्मार्ट मोबाइल एप विकास गरी कार्यान्वयनमा ल्याएको छ । यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्नेछन् ।

गत आवको असार मसान्तसम्म कोषमा २४९ अर्ब कोष मौज्दात छ । सो समयमा कोषको लगानी २४३ अर्ब छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानीमा छ ।

सेवाग्राहीबाट संकलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली, स्थानीय निकायहरुलाई समेटेर बनाएको प्रणालीको माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ । सहभागीलाई ऋणको किस्ता भुक्तानीलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन प्राथमिकताका साथ कार्य भइरहेको छ । सहभागीलाई डिजिटल परिचयपत्र दिनेतर्फ समेत कोषले कार्य गरिरहेको छ ।

कोषले कुन क्षेत्रमा कति लगानी गरेको छ ?

गत आवको असार मसान्तसम्म कोषमा २४९ अर्ब कोष मौज्दात छ । सो समयमा कोषको लगानी २४३ अर्ब छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानीमा छ । करिब २२ प्रतिशत सहभागी कर्जाका रुपमा लगानी छ भने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत छ ।

सरकारी ऋणपत्र, संगठित संस्थाको सेयर धितोपत्र र बन्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ । यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रुपमा लगानी गरिरहेको छ । लगानीको तथ्यांक हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिन्छ । यसलाई विविधीकरण गर्न कोष विशेष रुपमा प्रयत्नशील छ ।

कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ?

कोषका योजनामध्ये धेरैजसो योजना राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो ।

यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरुले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस् भनेर त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनामा छ ।

यस योजनामा न्यूनतम पाँच सय रुपैयाँ मासिक बुझाएर कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ । उहाँहरुले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकम बचतकर्ताको उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचत कर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भएमा उहाँहरुको इच्छाअनुसार मासिक पेन्सनका रुपमा उपलब्ध गराउने वा एकमुष्ट रकम भुक्तानी दिने व्यवस्था कोषले मिलाएको छ ।

यो योजनालाई प्रभावकारी बनाउन चालु आवको सुरुवातदेखि नै स्थानीय तहसँग समेत समन्वय गरेर आम नागरिकलाई कार्यक्रममा समावेश गर्ने सोचाइ राखेका छौं । यसैगरी, वैदेशिक रोजगारीमा रहनुभएका र वैदेशिक रोजगारीमा जानुहुने नेपाली नागरिकलाई यस कार्यक्रममा आकर्षित गर्न प्रचारप्रसार गर्ने, उहाँहरुसँग अन्तर्क्रियात्मक कार्यक्रम गर्ने योजना बनाइएको छ । सबै नेपालीले सहभागिता जनाउन सक्ने कोषले सञ्चालन गरेको अर्को कार्यक्रम नागरिक एकांक योजना पनि हो ।

लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष जस्ता फरकफरक संस्था आवश्यक थियो र ?

यी संस्थाको कतिपय कार्य समान प्रकृतिका भए पनि यी संस्था भिन्न समयमा भिन्न उद्देश्यका साथ स्थापना भएका हुन् । यी संस्थाले हाल सञ्चालन गर्दै आएका केही कार्य मिल्दाजुल्दा प्रकृतिका छन् । कतिपय प्रसंगमा यी संस्थालाई गाभेर एउटै संस्था बनाउँदा के हुन्छ भन्ने धारणा पनि आउने गर्छ । सञ्चय कोष राष्ट्र सेवक कर्मचारीसँग लक्षित छ ।

सामाजिक सुरक्षा कोष भने औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी कार्यमा रहेको छ । लगानी कोषले भने विशिष्टीकृत ढंगले काम गर्ने क्षेत्र पहिचान गर्दै नयाँ कार्यक्रम योजना सञ्चालन गरेर स्वेच्छिक प्रकारको अवकाश योजना सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारीका लागि योगदानमा आधारित सावधिक जीवन बिमा कोष सञ्चालन गर्ने र पुँजी बजारको विकासका लागि आवश्यक कार्य गर्ने गर्छ । यी तीनवटै संस्था नेपाल सरकारको समेत स्वामित्व भएका संस्था भएकाले आवश्यकताका आधारमा नै स्थापना भएका हुन् ।

कोषले लगानी विविधीकरण गर्न सकेन भन्ने कुरामा यहाँ के भन्नुहुन्छ ?

कोषमा योगदान गर्नुहुने सहभागीको पैसालाई कोषले लगानी गर्दा सतर्कताका साथ जोखिमरहित ढंगले लगानी गर्नुपर्छ । यसरी गरिने लगानीबाट उचित प्रतिफलसमेत प्राप्त हुने गरी लगानी गर्नुपर्छ । कोषका सहभागीहरु राष्ट्रसेवक कर्मचारी, संघसंस्थामा काम गर्ने कर्मचारी क्रमिक रुपमा अवकाश हुँदै जानुहुन्छ । अवकाश कोष सञ्चालन गर्ने संस्थाले उहाँहरुलाई नियमित भुक्तानी गर्ने गरी तरलताको व्यवस्थापन पनि गर्नुपर्छ । यो भन्नाले मुद्धती निक्षेपमा धेरै रकम राख्नुपर्छ भन्ने पनि होइन । तर, मुद्दती निक्षेप पनि आवश्यक भएको क्षेत्र हो ।

कोषसामु लगानीलाई थप विविधीकरण गर्नुपर्ने चुनौती छ । हाल औसतमा ५३ प्रतिशत जति रकम मुद्दती निक्षेपमा छ । यसलाई विविधीकरण गर्नेतर्फ कोषले योजना बनाई कार्य अघि बढाएको छ । खासगरी सरकारी पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाउन आवश्यक नीतिगत सुधारका लागि कार्य भइरहेको छ । यसैगरी विशिष्टीकृत कोष र पुँजी बजारमा लगानी बढाउन कोष लागिपरेको छ । अर्थात् कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ ।

कुन क्षेत्रमा लगानी गर्ने सोच्नुभएको छ ?

कोषले लगानी विविधीकरणलाई मूल एजेन्डाका रुपमा अगाडि सारेको छ । यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ । विविधीकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइनेछ । नेपालको परिवेशमा हेर्दा हाल जलविद्युतको क्षेत्र नै सबैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकाले यसतर्फ लगानी विस्तार गर्ने सोचाइ छ ।

अहिले पनि विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ । यसैगरी, कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ । विशिष्टीकृत फन्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ ।

लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा छ ।

‘प्राइभेट इक्विटी फन्ड’तर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ । लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा छ । स्टक डिलर पुँजी बजारमा सक्रिय छ । यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ । यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने, पुँजी बजारतर्फ लगानीलाई उल्लेखनीय बढाउने सोचाइसमेत छ ।

कोषलाई सेवाग्राहीले कसरी लिने ?

सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्छ । सहभागीले मेहनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ । सहभागीलाई अन्य किसिमका सेवासुविधा दिने, ब्याजदरको अलावा बोनस प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ । सहभागीहरुलाई बिमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्नेछ ।

कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारी तथा अन्य संघसंस्थाका कर्मचारीका लागि सञ्चालन गरिएका कार्यक्रमका अतिरिक्त आम नेपाली नागरिक विशेषतः वैदेशिक रोजगारीमा जानुभएका दाजुभाइ दिदीबहिनीलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नागरिक लगानी कोषले सहभागीको अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजना सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीले कोषको योजनामा सहभागिता जनाउनुभएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका एवं कृषि पेसामा रहनुभएका आम नागरिकलाई समेत लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको केही रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउन सबैमा अनुरोध गर्छु । यसैगरी, नागरिक लगानी कोषले सेवाग्राहीलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र सहभागीलाई उचित प्रतिफल दिने हुनाले नागरिक लगानी कोषप्रति विश्वास गर्दै यसका योजनामा सहभागी हुन सबैमा आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्