• Menu

अमेरिकामा रहेका युवालाई प्रधानमन्त्रीले भने- नेपाललाई समृद्ध बनाउनेबाहेक हाम्रो कुनै अभिष्ट छैन, स्वदेश फर्किनुस्

नेपाल प्रफिट

२०८१ असोज ८, मंगलबार ११:४२

अमेरिकामा रहेका युवालाई प्रधानमन्त्रीले भने- नेपाललाई समृद्ध बनाउनेबाहेक हाम्रो कुनै अभिष्ट छैन, स्वदेश फर्किनुस्

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको बताए ।

‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै संख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गरे । उनका अनुसार फर्कनेहरूको क्रम पनि बढेको छ ।

प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जानकारी गराए । ‘युवाबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा म स्पष्ट छु,’ उनले भने, ‘आउनुस् राष्ट्र निर्माणमा एकजुट होऔँ ।’

नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन नभएको उनले बताए । ‘बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हासिल गर्न सक्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।’

उनले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठूला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराए । सरकारले सुशासन र पारदर्शिता कायम गर्ने संकल्प लिएको जानकारी उनले दिए । ‘नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन । समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले यूएसआईडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचर : पार्टनरसिप लन्च एन्च प्लेजिङ इभेन्ट’मा लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाए । उनले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसदमा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको जानकारी दिए ।

कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा. जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलाविका राष्ट्रपतिलगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्