• Menu

कर्णालीका सबै घरको बिमा गर्दै सरकार, चार करोड ५० लाख बजेट विनियोजन

नेपाल प्रफिट

२०८१ भदौ ४, मंगलबार १०:५१

कर्णालीका सबै घरको बिमा गर्दै सरकार, चार करोड ५० लाख बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरको बिमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा घर बिमा गर्न बजेट छुट्याएको बताए ।

प्रदेश सरकारले त्यसका लागि चार करोड ५० लाख बजेट विनियोजन गरेको छ । ‘राष्ट्रिय स्तरको यो बहसमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकाय छौं,’ मुख्यमन्त्री कँडेलले भने, ‘विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यसम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस् ।’

उनले प्रदेश सरकारले गत वर्षको जाजरकोट भूकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा रकम दिइएको बताए ।

चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बिमाका लागि प्रदेश सरकारले एक करोड ७५ लाख बजेट छुट्याएको छ ।

खाद्य तथा कृषि संगठनका नेपाल–भुटानका देशीय प्रतिनिधि केन सिमिजुले विपद जोखिमका बेला सक्दो मानवीय सहायता प्रदान गरिआएको बताए । विपद् जोखिम प्रतिकार्यमा सबै सरोकारवाला एक भएर जानुपर्ने सुझाव उनले दिए ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलगायतले विपद् जोखिम बढ्दो रुपमा देखिन थालेकामा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्