• Menu

विचार

व्यवसाय सुरु गर्ने मुख्य तीनवटा सूत्र, जसले हामीलाई सफल बनाउँछ

चन्द्रप्रसाद ढकाल

२०८१ साउन ३०, बुधबार १४:०७

व्यवसाय सुरु गर्ने मुख्य तीनवटा सूत्र, जसले हामीलाई सफल बनाउँछ

आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु ।

सन् २००१ अर्थात् आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्या देखेका हामीले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो ।

नेपालको त्यही अगुवाइ रेमिट्यान्स कम्पनी आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना–कुनाका जो कोहीको पहिलो रोजाइ बन्न पुगेको छ । त्यति मात्र होइन, आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आइएमई गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि योभन्दा अर्को खुसीको कुरा अर्को के होला ?

हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमति सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो ।

निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरिसकेको थियो ।

मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य तीनवटा सूत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आमजनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो, जुन आर्थिक रुपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ ।

त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्छ । यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्छ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको विश्वासको निकै ठूलो महत्व छ ।

एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जनभन्दा बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ ।

आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बिमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय छन् ।

आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आइएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ ।

हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ ।

हामीलाई यहाँसम्म पुग्न निरन्तर रुपमा यहाँहरुको साथ सहयोग रह्यो । यसका लागि हामी यहाँहरु सबैप्रति कृतज्ञ छौँ । निजी क्षेत्रलाई रेमिट्यान्स व्यवसायमा सहजीकरण, गाइडेन्स, सहयोग र अनुमति प्रदान गर्न सहयोग गर्ने नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर दिपेन्द्रपुरुष ढकाल, डा. तिलक रावल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, डा. युवराज खतिवडा, दिपेन्द्रबहादुर क्षेत्री, डा. चिरञ्जीवी नेपाल, वर्तमान सञ्चालक रवीन्द्र पाण्डेलगायत धेरै व्यक्तिलाई म स्मरण गर्न चाहन्छु । तत्कालीन समयमा रेमिट्यान्स कम्पनी स्थापनाको कुरा अगाडि बढाउन यहाँहरुको भूमिका महत्वपूर्ण रह्यो ।

त्यसैगरी, थाइल्यान्डका लागि तत्कालिन नेपाली राजदूत जनकबहादुर सिंह, पूर्वराजदूत दिपक धिताल, तत्कालीन डीसीएम नारायण मैनाली, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय सबैको सकारात्मक सहयोग छ ।

त्यसैगरी, मलेसियाको केन्द्रीय बैंक, बैंक निगारा र त्यसका गभर्नर डा. जेटी र उहाँको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । हामी नेपाल राष्ट्र बैंकका साथै मलेसियाको केन्द्रीय बैंकमा पनि यसरी रेमिट्यान्स कारोबारको अनुमति पाउने पहिलो संस्था थियौँ ।

अझ, मलेसियाको केन्द्रीय बैंकले त हामीलाई अनुमती दिएसँगै पाँच वर्षसम्म कुनै पनि रेमिट कम्पनीलाई अनुमति दिएको थिएन । हामीलाई सुरुवाती दिनमा सहयोग गर्ने मलेसियाका एस सी भ्याटबिलोलाई विशेष सम्झन चाहन्छु ।

साथै, मेरो भाइ हेमराज ढकाल, भाइहरु अर्जुन र खिलेन्द्र, अंकलहरु दिवाकर र रुद्र, तत्कालीन समयमा उच्च व्यवस्थापनमा रहेर काम गर्नुभएका चन्द्र टण्डन, सुमन पोखरेल, दामोदर खनाल, प्रशन्न बास्कोटा, अहिलेको उच्च व्यवस्थापनलगायत सम्पूर्ण कर्मचारी साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु । अहिले आइएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरु हुनुहन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ ।

हामीले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाँदैछौँ । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ । अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ ।

राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउँदा होस् वा बिग मर्जरको नीति ल्याउँदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ । यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ ।

त्यसको फलस्वरुप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको संगमसहित नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।

हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीहरुबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ । हामीलाई विश्वास छ, आगामी दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ ।

रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको महसुस हामीले गरेका छौं । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ ।

(आइएमई लिमिटेड तथा जीएमई रेमिट प्रालिको संयुक्त कारोबार शुभारम्भको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेको सम्बोधन)

प्रतिक्रिया दिनुहोस्