विचार
नेपाल प्रफिट
२०८१ साउन ३०, बुधबार १३:१२
हामीले आजबाट एक नयाँ अध्यायको सुरुवात गर्न गइरहेका छौँ । आइएमई लिमिटेड र जीएमई रेमिट प्रालिको मर्जरपश्चात आइएमई लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ गर्न गइरहेका छौं ।
यस शुभ अवसरमा आयोजित कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराउनुभएकोमा आभार प्रकट गर्दछु ।
आज म हाम्रो चुनौतीपूर्ण विगतलाई सम्झन चाहन्छु । देश राजनीतिक तथा आर्थिक रुपान्तरणको क्रममा थियो । जताततै अन्योलता थियो । भविश्यको खोजीमा युवा पुस्ता छट्पटिएको थियो । आफ्नो र परिवारको भविष्य खोज्दै म पनि जापान पुगेको थिएँ ।
लगभग २५ वर्ष पहिला हुनुपर्छ, जापान बसाइका क्रममा आफू स्वयं र जापानमा रहेका धेरै नेपाली दाजुभाइले नेपाल पैसा पठाउन भोग्नुपरेको समस्याले मलाई पिरोल्दै गर्दा जन्मिएको एउटा सोच र अठोटको उपज हो, आइएमई ।
वैदेशिक रोजगारीका नयाँ-नयाँ गन्तव्य पनि खुलिरहेका थिए । तर, ती गन्तव्यमा दुःख गरेर कमाएको पैसा नेपालसम्म सुरक्षित तवरले भित्र्याउने बाटोको कुनै नक्सांकन नै भएको थिएन ।
त्यही अनिश्चिताका बीचमै हामीले सपना देखेका थियौँ कि यो बाटो हामीले कोर्नुपर्छ र सम्भव छ । Walt Disney ले भन्नुभएको छ, If you can dream it, You can make it.
हामीले पनि सपना देख्यौँ । तर सपना चुनौतीपूर्ण थियो । हाम्रो पृष्ठभूमि व्यवसायबाट आएको थिएन, जसको कारणले गर्दा व्यवसाय गर्ने तौरतरिका पनि सिक्नुपर्ने बाध्यता थियो । रेमिट्यान्स आफैँमा नौलो सोच थियो । सुन्दा असम्भव जस्तै लाग्थ्यो ।
विदेशबाट त्यति सजिलै पैसा पठाउन सकिन्छ भन्दा मानिसहरु हाँस्ने गर्थे । रेमिट्यान्स व्यवसायको वैधानिकता स्थापित गरी सेवाग्राहीको विश्वास जित्न साँच्चै कठिन थियो । हामीसँग अहिले जस्तो प्रविधि थिएन ।
प्रविधिमा खासै दख्खल नभएको अवस्थामा विश्वमा आएका नवीतम प्रविधि उपयोग गर्नुपर्ने अवस्था थियो । यी सबै चिजका लागि पुँजीको पनि त्यतिकै जरुरी थियो । हाम्रो भिजनलाई कार्यान्वयन गर्ने टिमको आवश्यकता पनि थियो ।
चुनौतीहरुका बीच यी सबै कुरालाई व्यवस्थापन गर्दै सानो स्केलबाट सुरु भएको आइएमई आजसम्म आइपुग्दा देशकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी बन्न सफल बनेका छौँ ।
वैदेशिक रोजगारीका लागि अनुमति प्राप्त धेरैजसो देशबाट रेमिट्यान्स सेवा दिइरहेका छौं भने एजेन्टबाहेक नै लगभग २० हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छौं ।
यसको अर्थ आइएमई रेमिट्यान्सलाई देशको औपचारिक अर्थतन्त्रमा जोड्नमात्र होइन, नेपालको सामाजिक-आर्थिक रुपान्तरणको संवाहकसमेत बन्न सफल भएको छ भन्ने विश्वास लिएका छौं ।
वास्तवमा, आज गर्व लाग्छ, दुई जनाबाट सुरु भएको आइएमई यात्रा आज जीएमइलाई प्राप्ति गर्दै गर्दा हजारौँ साथीहरुसहितको ठूलो परिवार बन्न पुगेको छ ।
रेमिट्यान्सको कुरा गर्दै गर्दा, नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमात्र होइन, बाह्य अर्थतन्त्रको सन्तुलनमा पनि रेमिट्यान्सको योगदान उल्लेखनीय छ । पछिल्लो १० वर्षको तथ्यांकलाई आधार मान्ने हो भने नेपालको जीडीपीमा रेमिट्यान्सको अनुपात औसतमा २३ प्रतिशत हाराहारी छ ।
देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेमिट्यान्स सेवालाई संस्थागत गरी नेपालीको कुल आय वृद्धिमा आइएमईले उल्लेखनीय योगदान गर्न सफल भएको छ भन्ने विश्वास लिएको छु ।
नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये सबैभन्दा ठूलो हिस्सा (लगभग ५० प्रतिशत) आइएमई ग्रुपअन्तर्गतका कम्पनीमार्फत भित्रिने कुरालाई नेपाल राष्ट्र बैंकको तथ्यांकले समेत पुष्टि गरिसकेको छ, जुन हाम्रा लागि गर्वको विषय पनि हो ।
तर, हामी यतिमा मात्र सीमित हुनु हुँदैन जस्तो लाग्छ । ग्राहकको अपेक्षा बढेको छ । दिनानुदिन प्रतिस्पर्धा बढ्दो छ । चुनौती थपिँदा छन् । समयसँगै विकास भएका अत्याधुनिक प्रविधिसँग संयोजन गर्दै हाम्रा सेवालाई अझ सहज, सुलभ र सुरक्षित बनाउन अत्यन्त जरुरी बनिसकेको छ । प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत र विविधीकरण गर्न आवश्यक छ ।
आज प्रविधिले हरेक क्षेत्रमा disruption ल्याइरहेको छ । हामीले पनि हाम्रो इतिहासलाई कायम राख्दै नयाँ-नयाँ प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक छ । हामीलाई पनि departure को आवश्यकता छ । त्यो departure भनेको Innovation र digitalization नै हो भन्ने लाग्छ ।
वास्तवमा, आम नागरिकको दैनिक जनजीवनका हरेक पक्ष प्रविधिसँग जोडिएका छन् । यस क्षेत्रमा दिनानुदिन भइरहेका विकासले आममानिसको आवश्यकता, रोजाइ र समग्रमा जीवनयापनको शैलीमा नै परिवर्तन ल्याइरहेको छ । परम्परागत कार्यशैली परिवर्तन भइरहेको छ । डिजिटल वित्तीय कारोबारतर्फ मानिसको आकर्षण बढ्दो रहेको विभिन्न तथ्यांकले पनि देखाएका छन् ।
प्रविधिको विकास र बढ्दो प्रयोगसँगै रेमिट्यान्सको अवधारणा नै परिवर्तन भएको मैले महसुस गरेको छु । आजको दिनमा रेमिट्यान्स विदेशमै काम गरेर आर्जन गरेको आयमा मात्र सीमित छैन ।
कुनै स्थिर वा भौतिक अफिसबिना सूचना प्रविधिको प्रयोगमार्फत नेपाली युवाले नेपालबाटै विश्वका विभिन्न मुलुकमा सेवा निर्यात गरेर मनग्य आम्दानी गरिरहेको विभिन्न अध्ययनले देखाएको छ । यसको अर्थ रेमिट्यान्स नयाँ-नयाँ रूपमा आइरहेको छ । यसले डिजिटल रेमिट्यान्सको महत्वलाई अझ बढाएको छ ।
सोही अनुरुप हामीले पनि आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै अघि बढिरहेका छौँ र संसारमा आएका नवीनतम प्रविधि अंगाल्दै अघि बढ्न प्रतिबद्ध पनि छौँ ।
डिजिटल भुक्तानीका साथै डिजिटल रेमिट्यान्सलाई सहज बनाउन आइएमई पे डिजिटल वालेट सञ्चालन गरिरहेका छौं, जसबाट ४० लाखभन्दा धेरै ग्राहकले डिजिटल भुक्तानीका साथै डिजिटल रेमिट्यान्सको सुविधा उपभोग गरिरहनुभएको छ ।
मलाइ विश्वास छ, आइएमई र जीएमईबीचको एकीकृत कारोबारपश्चात् हाम्रो सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीलाई सहज र सुलभ रेमिट्यान्स सेवा उपलब्ध गराउन हामी थप सक्षम हुनेछौँ ।
सेवाग्राहीहरुको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराज सम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको छु ।
स्थानीय स्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्नेमात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यस प्रयासमा हामी थप प्रतिबद्ध रहने जानकारी गराउन चाहान्छु ।
प्रचलित ऐन कानुन तथा नियामक निकायद्वारा जारी भएका निर्देशनको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य मान्यतालाई आत्मसात् गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनुका साथै कम्पनीले हालसम्म हासिल गरेको ख्याति र पहिचानलाई कायम राखी गुणस्तरीय सेवामा क्रियाशील रहन कम्पनी प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छु ।
देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यममा ल्याउन नेपाल सरकारका हरेक प्रयासमा आइएमई एक अग्रणी रेमिट्यान्स सेवाप्रदायक संस्थाको रुपमा सदैव सँगै रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
(आइएमई लिमिटेड तथा जीएमई रेमिट प्रालिको संयुक्त कारोबार शुभारम्भको अवसरमा नवनियुक्त अध्यक्ष हेमराज ढकालले गरेको सम्बोधन)
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal