काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिट एकअर्कामा गाभिएर औपचारिक कारोबार सुरु गरेका छन् । गाभ्ने/गाभिनेसम्बन्धी दुवै संस्थाको विशेष साधारण सभाबाट पारित प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकबाट साउन २ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट साउन ४ गते अन्तिम स्वीकृति प्राप्त गरेका दुवै कम्पनीले आइएमई लिमिटेडको नामबाट बुधबारदेखि औपचारिक कारोबार सुरु गरेका हुन् ।
कारोबार शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन् २००१ मा मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा स्मरण गरे ।
‘जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पुर्याउन झेलिरहेका समस्या देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो,’ उनले भने ।
नेपालको त्यही अगुवाइ रेमिटेन्स कम्पनी आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना–कुनाका जो कोहीको पहिलो रोजाइ बन्न पुगेको अध्यक्ष ढकालले बताए ।
‘हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ, अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ,’ उनले भने ।
त्यस्तै आइएमई लिमिटेडका नवनियुक्त अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेमिट्यान्स सेवालाई संस्थागत गरी नेपालीको कुल आय वृद्धिमा आईएमईले उल्लेखनीय योगदान गर्न सफल भएको विश्वास व्यक्त गरे ।
‘नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये सबैभन्दा ठूलो हिस्सा (लगभग ५० प्रतिशत) आइएमई ग्रुपअन्तर्गतका कम्पनीमार्फत भित्रिन्छ भन्ने नेपाल राष्ट्र बैंकको तथ्यांकले समेत पुष्टि गरिसकेको छ, जुन हाम्रा लागि गर्वको विषय पनि हो,’ उनले भने ।
२०५८ जेठ ३० गते स्थापना भएको आइएमई लिमिटेड नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनी हो । स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा आरम्भको २४औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा गरी २२५ आइएमई सेन्टर स्थापना गरिसकेको छ ।
त्यस्तै कम्पनीले ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनाएको छ ।
आईएमई लिमिटेड आइएमई ग्रुपअन्तर्गतको संस्था हो, जसको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले गरेका छन् ।