• Menu

अमेरिकी अर्थतन्त्र मन्दीमा जाने त्रासले विश्व सेयर लगानीकर्ता आतंकित, ग्लोबल स्टक मार्केट क्रयास !

नेपाल प्रफिट

२०८१ साउन २१, २१:३७

अमेरिकी अर्थतन्त्र मन्दीमा जाने त्रासले विश्व सेयर लगानीकर्ता आतंकित, ग्लोबल स्टक मार्केट क्रयास !

एजेन्सी । अमेरिकी अर्थतन्त्र मन्दीमा जाने त्राससँगै विश्वभरका सेयर लगानीकर्ता आतंकित भएका छन् । बेरोजगारी दरमा उच्च वृद्धि र फेडरल रिजर्भद्वारा ब्याजदर कटौतीसँगै अमेरिकाको समग्र अर्थतन्त्र मन्दीमा जाने चर्चाका बीच लगानीकर्ता त्रसित भएपछि विश्वभरको सेयर बजार धस्किएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आरटी डट कमले ग्लोबल स्टक मार्केट क्रयास भएको उल्लेख गरेको छ ।

अमेरिकी एक्सचेन्ज कम्पनी नाजडाक स्टक मार्केट सोमबार ५.४ प्रतिशतले तल झरेको छ भने एस एन्ड पी ४.१६ प्रतिशर डाउजोन्स २.६८ प्रतिशतले ओरालो लागेको छ । त्यस्तै जापानको एक्सचेन्ज निक्की २२५ मा १२ प्रतिशतको गिरावट आएको छ । भारत र ताइवानका एक्सचेन्ज तथा दक्षिण कोरियाको कोस्पी सूचकांक पनि उल्लेख्य घटेको छ ।

इरान र इजरायलबीच युद्धको आशंकापछि दबाबमा रहेका लगानीकर्ता अमेरिका मन्दीमा जाने चर्चाले थप त्रासित भएको सेयर बजार विश्लेषकहरुले बताएका छन् ।

शुक्रबार सार्वजनिक एक अध्ययन प्रतिवेदनअनुसार अमेरिकाको बेरोजगारी दरमा अप्रत्यासित वृद्धि भएको छ । त्यस्तै सेप्टेम्बरका लागि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ५० आधार बिन्दुले ब्याजदर कटौती गरेको छ ।

ब्याजदरमा उच्च अंकको कटौतीसँगै सेयर बजारमा सट्टेबाजी भएको अड्कल अर्थशास्त्रीहरुले गरेका छन् । विश्वव्यापी वित्तीय बजारमा यसले ठूलो प्रभाव पार्ने र अमेरिकी अर्थतन्त्र नै संकटमा पर्ने उनीहरुको अनुमान छ ।

त्यस्तै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पनि तीव्रदरमा झरेको छ । अगस्ट १ मा ६४ हजार ६१४ डलर रहेको बिटक्वाइनको मूल्य अगस्ट ५ मा ४९ हजार ८२५ डलरसम्म झरेको छ ।

प्रतिक्रिया दिनुहोस्