काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीमा ५५० बिरूवा रोपेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा वृक्षरोपण अभियान सञ्चालन गरेको हो ।
अभियानमा मिस नेपाल २०२४ का प्रतियोगीको उत्साहजनक सहभागिताले अभियानको प्रभाव र पहुँच बढाउन भूमिका खेलेको कम्पनीले जनाएको छ । ‘अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई थप बलियो बनाएको छ,’ साइमेक्स इंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कालिमाटीको नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म कम्पनीले आफैं हेरचाह र सम्भार गर्ने भएको छ । यसले प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्ने साइमेक्सको प्रतिबद्धता झल्काउने कम्पनीले जनाएको छ ।
कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट पाँच वर्षपछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ ।
त्यसैगरी १० वर्षपछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्षपछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुने कम्पनीको प्रक्षेपण छ ।
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियानअन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौं,’ साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो ।’
उनले अभियानमा सहयोग पुर्याउने द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं. १३ प्रति आभार प्रकट गरेका छन् ।
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । साइमेक्सले वातावरणीय ह्रासका कारण निस्सासिएको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
वृक्षरोपणले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा इकोसिस्टमको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीको छ । अभियानले वातावरणलाई संरक्षण र पुन:स्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नेछ जारी विज्ञप्तिमा उल्लेख छ ।