काठमाडौं । जीएमई रेमिट प्रालि औपचारिक रुपमा आइएमई लिमिटेडमा गाभिएको छ । गाभ्ने/गाभिनेसम्बन्धी दुवै संस्थाको विशेष साधारण सभाबाट पारित प्रस्तावमा नेपाल राष्ट्र बैंकबाट साउन २ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट साउन ४ गते अन्तिम स्वीकृति प्राप्त भएको हो ।
२०८१ जेठ ९ मा सम्पन्न आइएमई लिमिटेडको विशेष साधारणसभाबाट जीएमई रेमिटलाई गाभ्ने तथा जीएमई रेमिटको विशेष साधारण सभाबाट आइएमई लिमिटेडमा गाभिने प्रस्ताव पारित भएको थियो ।
दुवै संस्थाको विशेष साधारण सभाबाट पारित प्रस्तावअनुसारको निवेदनमा राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारबाट अन्तिम स्वीकृति प्राप्त भएको हो । आइएमई लिमिटेड र जीएमई रेमिटले शनिबार एक सूचना जारी गरी साउन ३० देखि आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार आरम्भ गर्ने जानकारी गराएका छन् ।
२०५८ जेठ ३० गते स्थापना भएको आइएमई लिमिटेड नेपालको रेमिट्यान्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनी हो । स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा आरम्भको २४औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा गरी २२५ आइएमई सेन्टर स्थापना गरिसकेको छ ।
त्यस्तै कम्पनीले ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनाएको छ ।
आईएमई लिमिटेड आइएमई ग्रुपअन्तर्गतको संस्था हो, जसको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । आइएमई लिमिटेडको व्यवस्थापकीय टिमको नेतृत्व भने प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले गरेका छन् ।