विचार
अहिले मूलतः मौद्रिक नीति के भइरहेको छ ? कहिले आउँछ ? हस्तक्षेप भइरहेको छ कि भन्ने कुरा पनि आएको छ । यसको वास्तविकता के हो भने स्वभावैले नेपाल राष्ट्र बैंक आफ्नै ऐनअन्तर्गत सञ्चालित स्वायत्त संस्था हो । स्वायत्त संस्था भएर पनि राष्ट्र बैंकले यही धरातल र आर्थिक परिदृश्यमा काम गरेको हुन्छ ।
आफ्ना नीतिहरु पनि राष्ट्र बैंकले समाज बाहिरबाट निर्माण गर्ने होइन । त्यसले गर्दा सरकारका सोचहरु के छन् भन्ने कुरा राष्ट्र बैंकले हेक्का राखेकै हुन्छ । त्यसो हुनाले मेरो बुझाइमा के छ भने हामीले राष्ट्र बैंकलाई कुनै पनि प्रकारको हस्तक्षेप गरेका पनि छैनौं, गर्नु पनि हुँदैन र हस्तक्षेप गर्नुपर्ने आवश्यकता पनि छैन ।
अर्थमन्त्री र गभर्नर भेटिनासाथ ‘मौद्रिक नीतिको ब्रिफिङ’ भयो भन्ने हुँदैन । मौसमका हिसाबले अनुमान गरिएको हुनसक्छ । सम्माननीय प्रधानमन्त्रीज्यूले हाउसमै पनि बोल्नुभयो, ‘यो सरकारलाई निजी क्षेत्रले भरोसा गरेको छ, आमनागरिकले पनि भरोसा गरेका छन्, पत्याएका छन्, अहिले सेयर मार्केट पनि स्ट्रङ्ली हरियो हुँदै गएको छ । सेयर मार्केटमात्र होइन, अब समग्र अर्थतन्त्र हरियो हुन्छ, विश्वास गर्नुस् ।’
समग्र अर्थतन्त्रलाई हरियो बनाउन अथवा गतिशील र उत्थानशील बनाउनका निम्ति लिनुपर्ने नीति, लिनुपर्ने निर्णय सबै निकायले लिने हो । राष्ट्र बैंकले पनि स्वभावैले त्यस प्रकारको मौद्रिक नीति लिन्छ भन्ने स्वतः स्पष्ट हुने कुरा हो । त्यसकारण राष्ट्र बैंकलाई हामी ‘डिक्टेड’ गर्दैनौँ, गर्नु पनि हुँदैन । त्यसो गरियो भने जुन खालको मर्मका साथ कानुन निर्माण भएको छ, त्यसको रक्षा गर्न समस्या खडा हुन्छ । म त्यसमा बढो होसियार छु ।
अहिलेको आवश्यकता के हो भने अर्थतन्त्रका केही परिसूचक सकारात्मक छन्, कतिपय परिसूचक नकारात्मक छन् । उदाहरणका लागि बैंकमा निक्षेप राम्रो छ अर्थात् तरलताको अवस्था राम्रो छ । रेमिट्यान्स आप्रवाह राम्रो छ । विदेशी विनिमय सञ्चिति राम्रो छ । यस्ता केही राम्रा सूचक छन् ।
कतिपय सूचकको अवस्था चिन्ताजनक पनि छ । राम्रो किन राम्रो भइरहेको छ भन्ने विश्लेषण सँगसँगै जोडिएर आउँछ । त्यसले गर्दा बैंकमा रहेको अधिक तरलता उत्पादनको क्षेत्रमा प्रयोग हुने परिस्थिति निर्माण गर्नुपर्ने छ र यो चुनौतीपूर्ण छ ।
तरलता त छ तर त्यो तरलता त्यहीँ थुप्रिएर बसिरहनु राम्रो हुँदैन । उत्पादन र उत्पादकत्व वृद्धिको क्षेत्रमा परिचालन हुनुपर्छ । यसतर्फ वित्त नीति बनाउनेले पनि ध्यान दिएका छन् र मौद्रिक नीति बनाउनेले पनि ध्यान दिनेछन् ।
खासगरी अहिले मैले निजी क्षेत्रको मनोबल टुटेको पाएको छु । टुटेको मनोबलमा मलजल गर्नुपर्ने आवश्यकता छ । हिजो तुलनात्मक रुपमा अनुकूल परिस्थितिमा उनीहरुले लगानी गरे । ‘म यो प्रोजेक्टमा यति लगानी गर्छु, यसरी कारोबार गर्छु, यति नाफा कमाउँछु, यति कर तिर्छु, बैंकको साँवाब्याज तिर्छु, अगाडि बढ्छु’ भन्ने योजना र प्रक्षेपणका साथ उनीहरुले लगानी गरे ।
बीचमा समष्टिगत मागमा गिरावट आएको छ । उत्पादन घटेको छ । कतिपय उद्योग एक तिहाइ क्षमतामा चलेका छन् । त्योभन्दा कममा पनि चलेका होलान् । कति बन्द पनि भएका छन् । माग घटेको छ । आयात घटेको छ । निर्यात घटेको छ । यो सबैको असर बैंकको कर्जामा परेको छ । उनीहरुले साँवाब्याज तिर्न सकिरहेका छैनन् । कालोसूचीमा परिने हो कि भन्ने चिन्ता बढेको छ ।
त्यसकारण अहिले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने आवश्यकता छ । निजी क्षेत्रलाई उत्पादन र उत्पादकत्व बढाउनतर्फ लाग्ने गरी सरकार र राष्ट्र बैंकले नीति तय गर्नुपर्ने अवस्था छ ।
समष्टिगत माग किन घट्यो भन्नेमा धेरै कारण अन्तर्निहित छन् । ती कारणको निराकरण गर्दै जानुपर्छ । मानिसहरुको क्रयशक्ति बढाउनुपर्छ । क्रयशक्ति बढाउन मानिसहरुलाई रोजगारीमा जोड्नुपर्छ । उत्पादनमा जोड्नुपर्छ । उत्पादन, उत्पादकत्व, रोजगारी, क्रयशक्तिका लागि अनुकूल परिस्थिति निर्माण गरेर समष्टिगत माग बढाउन सकिन्छ । सरकारले त्यही दिशामा कामलाई तीव्रता दिन्छ ।
यसबाहेक लघुवित्तको क्षेत्रमा पनि समस्या देखिएको छ । सहकारीमा गम्भीर प्रकारको समस्या देखिएको छ । सहकारी क्षेत्रको समस्यालाई समाधान गरेर सहकारीलाई सहकारीका रुपमा व्यवहार गर्न जरुरी छ । विश्वव्यापी रुपमा हेर्ने हो भने सहकारीले राम्रो प्रतिफल पनि दिएको छ ।
हामीकहाँ सहकारी विस्तारको काम भएको छ तर त्यसलाई प्रभावकारी बनाउने, प्रतिफलमुखी बनाउने र गुणस्तर वृद्धि गर्ने दिशामा ध्यान दिनुपर्ने स्थिति छ । पछिल्ला दिनमा देखिएका समस्यामा समाधान गर्दै जानुपर्ने छ ।
त्यस्तै राजस्व परिचालनमा पनि हाम्रासामु केही चुनौती छन् । हामीले लक्ष्य गरेको राजस्व संकलन भएको छैन । हामी बजेट निर्माणका क्रममा प्रक्रिया पूरा गर्ने लक्ष्यमात्र तय गरेर बस्छौं कि भनेजस्तो स्थिति देखापरेको छ ।
राजस्व परिचालन मूलतः उत्पादन र उत्पादकत्व वृद्धि एवं निजी क्षेत्रको मनोबलसँग जोडिएको छ । यो सबैमा ध्यान दिएर राजस्वको लक्ष्य हासिल गर्ने कुरामा ध्यान दिनुपर्ने देख्छु ।
अर्को कुरा, केही वर्षयता पुँजीगत खर्चको सामर्थ्य पनि उल्लेख्य रुपमा घटेको छ । त्यो खर्चको सामर्थ्य पनि बढाएर लैजानुपर्ने चुनौती छ । यी र यस्ता विषयमा केन्द्रित हुँदै शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, टुटेको मनोबललाई जगाउने तथा उत्पादन र उत्पादकत्व वृद्धिमा केन्द्रित भएर लाग्ने सोचमा सरकार छ ।
(इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)सँगको अन्तक्रियाका क्रममा मंगलबार उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा व्यक्त धारणा)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal