काठमाडौं । ग्लोबल आइएमई बैंकले २३३ शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेको कार्यक्रममा ३५ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापकलगायतको सहभागिता थियो ।
कोशी प्रदेशमा आयोजित कार्यक्रममा ३५ सय, मधेसमा २२ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रह्यो ।
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।