• Menu

सत्तारुढ एमाले सांसदबाटै आगामी बजेटको चर्को आलोचना (भिडिओ)

नेपाल प्रफिट

२०८१ जेष्ठ २२, मंगलबार १३:४६


काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेटको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै उनले बजेटमा धेरै कुरा तालमेल नमिलेको बताए ।

सरकारले कृषि लगानी दशक घोषणा गरेको तर कृषिकै बजेट कटौती गरिएको उनको भनाइ छ । विद्युतीय सवारी साधनमा कर बढाएको विषयमा पनि उनले अर्थमन्त्री वर्षमान पुनको आलोचना गरेका छन् । सूचना प्रविधि दशक भनेको तर बजेट कटौती गरिएको उनले बताए ।

उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएर बजेट नआएको उनले टिप्पणी गरे । अर्थमन्त्री पुनले अघि सारेका ‘फाइफ फिङ्गर स्ट्राटेजी’ को पनि सांसद विष्टले आलोचना गरे ।

‘फाइफ फिङ्गर स्ट्राटेजी’ले राम्रो सन्देश दिएको भए पनि विषय केन्द्रित नभएको उनले टिप्पणी गरे । त्यस्तै नयाँ चरणको आर्थिक सुधार कसको लागि, कसरी र लक्ष्य के हो भन्ने स्पष्ट नभएको उनले बताए ।

‘दोस्रो चरणको आर्थिक सुधार भन्न नसकेर अर्थमन्त्रीज्यूले नयाँ चरणको भन्नुभएको हो कि सदनलाई प्रस्ट पार्न अनुरोध गर्दछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्