काठमाडौं । वैशाख पूर्णिमाका दिन बिहीबार (२०८० जेठ १०) बुद्ध जन्मस्थल लुम्बिनीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिको सन्देश बाँडिरहँदा त्रिभुवन विमानस्थलमा जहाज चढ्ने तरखरमा रहेका युवाको मन निकै अशान्त थियो ।
एकपटक पुगेर बिदामा आएका र पुनः जाने तयारीमा रहेका युवाको अनुहार सामान्य देखिए पनि पहिलोपटक जान लागेका युवाको अनुहारमा बेचैनी स्पष्ट देखिन्थ्यो । यस्तै व्याकुल मनसहित हातमा भिसा लागेको पासपोर्ट र श्रम स्वीकृतिको कागज बोकेर उभिएका थिए- मोरङका २२ वर्षीय टंकनाथ पोखरेल ।
‘कुन देश जान लाग्नुभएको ?’ मैले अलिअलि हाँसेर सोधेँ ।
परिवार र आफन्तबाट टाढिनुपर्दाको पीडा र अन्जान भूमितर्फ यात्रा गर्नुपर्दाको एकप्रकारको भयले उद्वेलित भइरहेका बेला अपरिचित मान्छेबाट परिचितझैं व्यवहार पाउँदा उनको अनुहार हल्का उज्यालियो ।
‘मलेसिया’ सानो स्वरमा उनले भने ।
‘पहिलोपटक जान लागेको हो ?’
‘हो ।’
‘डर लागिरहेको छ ?’
‘अलिअलि ।’
‘कति जना हुनुहुन्छ सँगै जाने ?’
‘३५ जना ।’
‘ए ! पुरै हुल नै र’छ, किन डराउनु त उसो भए ?’
उनी हाँसे मात्र ।
‘तलब राम्रै होला नि ?’
‘१५ सय बेसिक छ, ओभर टाइम पनि लाग्छ रे ! १८ सय (रिंगिट) जति कमिन्छ भन्छ,’ उनी अलि खुले ।
‘कुन कम्पनी हो ?’
‘कोकन फुड इन्डस्ट्रिज एसबी,’ हातैमा बोकेको पेपर देखाउँदै उनले भने ।
‘पैसा त लागेन होला नि ! फ्रि भिसा फ्रि टिकट छ !’
‘कहाँ मान्छ ? तीन लाख तिरेर जान लागेको ।’
अर्थात्, काठमाडौंको एयरपोर्टमा रहेको वाईके म्यानपावर एजेन्सी प्रालि (एसिया पावर ओभरसिज इम्प्लोयमेन्ट सर्भिस) लाई तीन लाख रुपैयाँ तिरेर उनी मलेसिया प्रस्थान गर्दै थिए ।
उनीसँगै उभिएका सिरहाका शिवराज कुर्मीले भने रकम बताउन मानेनन् । उनी ‘मेरो त फ्रि भिसा फ्रि टिकट हो’ भन्दै थिए । कुर्मीले ‘फ्रि भिसा’ हो भनिरहँदा नजिकै उभिएका उनका बुवाले तीनवटा औंला उठाइसकेका थिए । कुरो बुझेपछि मैले थप सोधिन । ‘शुभयात्रा’ ‘धेरै कमाएर फर्किनुहोला’ भन्दै छुटेँ ।
उनीहरु जस्तै रोल्पाका मीनबहादुर घर्तीमगर पनि सामाखुसीमा रहेको कनकाई रिक्रुटमेन्ट सप्लायर्स प्रालिलाई चार लाख रुपैयाँ बुझाएर १५ सय रिंगिटकै भिसामा मलेसिया उड्ने तयारीमा थिए । वाईएमडब्लू नामको बीउविजन उत्पादन गर्ने कम्पनीबाट भिसा प्राप्त गरेका सल्यानका जीवन थापाले भने ३ लाख ७० हजार रुपैयाँ बुझाएका रहेछन् ।
‘त्यसबाहेक काठमाडौं आउँदा-जाँदा, बस्दा-खाँदा र अरु प्रक्रिया पूरा गर्दा अर्को डेढ लाखभन्दा बढी खर्च भएको छ,’ थापाले भने ।
युवाबाट मनपरी पैसा उठाउने सिलसिला वर्षौंदेखि जारी छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ का नरेश दास पाँच वर्षअघि युनाइटेड अरब इमिरेट्सको दुबई गएका थिए । उनलाई विदेश पठाउँदा अञ्जली म्यानपावरले त्यसबेलै २ लाख रुपैयाँ लिएको थियो ।
अर्थात्, सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ भने पनि व्यवसायीले निर्धक्कसँग युवाबाट कम्तीमा दुई लाख रुपैयाँ उठाइरहेका छन् । २०७२ सालमा तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले हचुवामा लिएको यो नीति पूर्णतः असफलसिद्ध भइसकेको छ । तर, त्यसपछिका कुनै मन्त्री यसलाई व्यवस्थित बनाउने सोचमा देखिएनन् ।
हरेक वर्ष म्यानपावर व्यवसायीले युवाबाट एक खर्बभन्दा बढी रकम उठाउँछन् । अवैध हिसाबले युवाबाट उठाइने त्यो सबै पैसा अवैध ढंगले परिचालन हुने गरेको छ ।
चालु आवको साउनदेखि चैतसम्ममा ३ लाख २९ हजार ४२२ युवा रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगेका छन् । औसत ३ लाख रुपैयाँलाई मात्र आधार मान्दा पनि ९ महिनामा म्यानपावर व्यवसायीले युवाबाट ९८ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ उठाइसकेका छन् । युवाबाट म्यानपावर व्यवसायीले पारिश्रमिकको अवस्था हेरेर ८ लाख रुपैयाँसम्म उठाएको पाइन्छ ।
के गर्दै छ श्रम मन्त्रालय ?
राज्यमन्त्री गुरुङले लिएको ‘फ्रि भिसा फ्रि टिकट’ नीति पूर्णरुपमा असफल भएसकेकोमा त्यसपछिका हरेक श्रममन्त्री स्पष्ट छन् । तर, अलोकप्रिय भइने त्रासमा उनीहरुले यसमा पुनरावलोकन गर्न सकिरहेका छैनन् ।
व्यवसायीले हाकाहाकी युवाबाट पैसा उठाइरहेको विषयमा मन्त्री र मन्त्रालयका उच्च अधिकारीलाई जानकारी गराउने गरेका पनि छन् । तर, यसलाई सुधार गर्न कुनै मन्त्रीले आँट गरेनन् ।
गुरुङले ‘फ्रि भिसा फ्रि टिकट’ नीति लिएका बेला २०७२ सालमै म्यानपावर व्यवसायीले प्रदर्शन गरे र सम्भव नहुने स्पष्ट अडान लिएका थिए । अहिले पनि उनीहरु त्यही अडानमा छन् । पैसा पनि उठाइरहेका छन् ।
वैशाख २४ गते मन्त्रालयले आयोजना गरेको ‘वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न विषयहरुमा छलफल तथा अन्तर्क्रिया’ कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले मन्त्री डोलप्रसाद अर्याल र सचिव घनश्याम उपाध्यायकै सम्मुखमा ‘फ्रि भिसा फ्रि टिकट’ लागू नभएको र हरेक व्यवसायीले युवाबाट पैसा उठाउनु बाध्यता भएको सुनाए । विदेशबाट सबै फ्रि कोटा ल्याउन नसकिने अवस्थामा निःशुल्क पठाउनै नसकिने उनको तर्क थियो ।
मन्त्रालयले हालै गरेको अनौपचारिक अध्ययनले पनि विदेश जाने ४ प्रतिशत युवाले मात्र ‘फ्रि भिसा फ्रि टिकट’ पाएको देखिएको छ । श्रममन्त्री अर्याल यो ४ प्रतिशतलाई बढाउँदै लैजाने तर ‘फ्रि भिसा फ्रि टिकट’ नीतिमा पुनरावलोकन गर्ने पक्षमा छन् ।
‘कसरी पठाउने भन्ने तयारी भइरहेको छ तर ‘फ्रि भिसा फ्रि टिकट’ नीतिचाहिँ असफल भएकै हो,’ उनले भने, ‘पुनरावलोकन कसरी गर्ने भन्नेमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।’
अहिले दुई लाखदेखि आठ लाखसम्म तिरिरहेका युवालाई व्यवसायीले माग गरेअनुसार नै एक महिनाको पारिश्रमिक उपलब्ध गराउने हो भने पनि ४५-५० भन्दा बढी खर्च नलाग्ने मन्त्रालयको अनुमान छ ।
‘त्यसपछि विस्तारै यसलाई व्यवस्थित गर्दै लैजान सकिन्छ,’ मन्त्री अर्याल भन्छन्, ‘त्यसो गर्न सके म्यानपावर व्यवसायीको आम्दानीलाई पनि औपचारिक च्यानलमा ल्याउन सकिन्छ, अहिले म्यानपावर व्यवसायीले युवाबाट बर्सेनि उठाइरहेको एक खर्बभन्दा बढी रकम सबै अनौपचारिक हिसाबले प्रयोगमा आइरहेकोमा हामी स्पष्ट छौं ।’
‘फ्रि भिसा फ्रि टिकट’ नीति पुनरावलोकन गरेपछि बदमासी गर्ने व्यवसायीलाई ‘सिधै समातेर थुन्ने अनि मात्र सुन्ने’ मन्त्रालयको तयारी छ । त्यसका लागि मन्त्रालयअन्तर्गत रहने गरी कस्टडी बनाउने काम भइरहेको जनाइएको छ ।
(औसत तीन लाख उठाएको पाइएकाले शीर्षक सच्याइएको)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal