काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले शुक्रबार पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि उनले पदभार ग्रहण गरेका हुन् ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको सीईओ पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।
पदभार ग्रहणका अवसरमा नवनियुक्त सीईओ खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने बताए ।
चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु सीईओ थिए । २०६४ सालमा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनालले व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।
रिक्त रहेको बैंकको सीईओ पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्न बैंकले वैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो ।