• Menu

सोह्रौं योजनाको लक्ष्य : प्रतिव्यक्ति आय २ हजार ३५१ डलर, अर्थतन्त्रको आकार १०० खर्ब

नेपाल प्रफिट

२०८१ जेठ २, बुधबार १३:०७

सोह्रौं योजनाको लक्ष्य : प्रतिव्यक्ति आय २ हजार ३५१ डलर, अर्थतन्त्रको आकार १०० खर्ब

काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रतिव्यक्ति आय २३५१ डलर र अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने लक्ष्यसहित १६औं आवधिक योजना सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको १६औं पञ्चवर्षीय योजना राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको हो ।

जसअनुसार आर्थिक वर्ष २०८५/८६ सम्ममा प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिइएको छ । त्यस्तै आर्थिक वर्ष २०८५/८६ सम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य आयोगले लिएको छ ।

नेपालको आर्थिक वृद्धिदर २०८५/८६ मा ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६औं योजनाले लिएको छ । औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने १६औं योजनाको लक्ष्य छ ।

चालु आव ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान छ । आव २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६ प्रतिशत, २०८३/८४ मा ७.४ प्रतिशत र २०८४/८५ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य १६औं योजनाले लिएको छ ।

त्यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने आयोगको लक्ष्य छ । मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने तथा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६औं योजनाको लक्ष्य छ ।

विद्युत उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच जनसंख्या सतप्रतिशत र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिइएको उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्