• Menu

द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

नेपाल प्रफिट

२०८१ जेष्ठ २, बुधबार ११:३७

द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाडौं । लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्युड भोड्काको उत्पादक ‘द नेपाल डिस्टिलरिज’ले काठमाडौं महानगरपालिका वडा नम्बर १६, बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो ।

सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।

स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन् । खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुसी छौं । यस पहलले निःसन्देह यस क्षेत्रको सौन्दर्य र सुरक्षा बढाउनेछ । हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योगसमेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ । हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौं,’ स्थानीयको भनाइ उद्धृत गर्दै कम्पनीले भनेको छ ।

वडानम्बर १६ का कार्यबाहक अध्यक्ष पुष्प महर्जनले नेपाल डिस्ीिलरिजको सहयोगप्रति आभार प्रकट गरे ।

नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी कम्पनी हो । आईएसओ ९००१ : २०१५ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रूचाइने खुकुरी रम उत्पादन गर्छ ।

यसबाहेक न्युड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ । खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका, दुबई लगायतका विदेशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्