चन्द्रप्रसाद ढकाल
२०८० चैत २८, बुधबार १०:४५
उद्योग वाणिज्य दिवस एवं नेपाल उद्योग वाणिज्य महासंघको यस ५८ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु ।
म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा थियो ।
मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एक-दुई जना साथीभाइ र परिवारबाट सुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेको छ । महासंघमा जोडिएसँगै करिब ६ लाख व्यवसायीसहितको परिवार बन्यो । हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन् । यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो ।
हाम्रो बृहत परिवार यो सिंगो मुलुक हो । निजी क्षेत्र यो बृहत परिवारको आयआर्जन गर्ने सदस्यहरु हुन् । हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो । सरकारले दिने सेवा र सुरक्षाबिना हामी काम गर्न सक्दैनौँ । हामीलाई सेवा र सुरक्षा दिएबापत हामी राज्यलाई कर बुझाउँछौं ।
अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ ।
म युवाहरुको सपनाको बारेमा कुरा गर्न चाहन्छु । म उद्यमशीलताको कुरा गर्न चाहन्छु । उद्यमशीलता एउटा कठिन तपस्या हो । कुनै पनि नयाँ काम गर्न नवीन सोच र आइडिया चाहिन्छ । त्यसलाई कार्यान्वयन गर्न रकम चाहिन्छ । यस्तो रकमको जोहो घरबार धितो राखेर नै गर्नुपर्छ ।
अब त्यो आइडियालाई समाजले स्वीकार गर्ने गरी तयार पार्नुपर्यो । राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अड्चन हुनु भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत विषय पूरा गरेपछि मात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मेहनत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।
तर, यति हुँदाहुँदै पनि म आज यहाँ निराशामात्र व्यक्त गर्न चाहन्न । म नेपाललाई सम्भावना नै सम्भावना भएको मुलुकको रुपमा देख्छु । यी सम्भावनालाई यथार्थमा परिणत गर्न राजनीतिक नेतृत्वको भूमिकाको बारेमा पनि कुरा गर्छु ।
सम्भावना पहिल्याउन अहिलेको वास्तविक चित्रण आवश्यक छ । अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ । अर्थात् करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ । बैंकहरुमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ ।
भुक्तानी सन्तुलन र चालु खातासमेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर, यस अवधिमा एक खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ त विद्यार्थी विदेश जाँदा बाहिरिएको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य बनेयता निर्यात तीन गुणासम्म बढेको छ भने आयात १० गुणा बढेको छ ।
वैदेशिक लगानी कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत हाराहारीमात्रै छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झन्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ ।
निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल हुनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्समात्रै मुलुक धान्ने आधार बनेको दशकौँ भैसकेको त हामीलाई विदितै छ ।
तर, रेमिट्यान्सले मात्रै निरन्तर अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून हुन्छ । विगतमा बढदो रेमिट्यान्सले माग बढाउँदा सरकारको राजस्व पनि बढेको थियो । राजस्व अपेक्षित रुपमा बढ्न सकेको छैन । न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने देखिन्छ ।
यी माथिका तथ्यांक मैले हाम्रो अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा जानकारीका लागि प्रस्तुत गरेको हुँ । किनभने अर्थतन्त्रमा अझै समस्या छ भन्ने तथ्यलाई स्वीकारेर मात्र यसको निकास खोज्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ ।
करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको हो । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेकै हो । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिन नसक्दा हामी आज यो मोडमा आइपुगेका छौँ ।
यसपटकको बजेट र मौद्रिक नीतिमा निजी क्षेत्रको साझा सुझाव पेस हुँदा पनि सुधारका उपाय अवलम्बन हुन सकेनन् । श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए । यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिब २ प्रतिशत सकारात्मक भएको छ ।
नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख हुन् । किनभने यस अवधिमा भारत, बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशतमात्र हुने अनुमान सार्वजनिक गरेको छ । जबकि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ । गत वर्ष पनि नेपालको वृद्धि २ प्रतिशतभन्दा कम हुँदा भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशतभन्दा बढीले विस्तार भएको थियो ।
भारतमात्रै होइन, हाल निक्कै उच्च दरमा वृद्धि हासिल गरिरहेका बंगलादेश, क्याम्बोडिया, लाओस, रुवान्डा र इथियोपिया जस्ता मुलुकको विकासको मुख्य आधार निजी क्षेत्रले डोर्याएको वृद्धि नै हो । कुनै समयका द्वन्द्वग्रस्त र निक्कै गरिब मुलुकहरुको पछिल्लो एक दशकको औसत वृद्धिदर ६ प्रतिशत माथि छ । नेपालको भने औसत ४ प्रतिशत छ ।
पछिल्लो दुई वर्षमा न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । यस वर्ष पनि उत्पादनमूलक क्षेत्रको वृद्धिदर ०.४ प्रतिशतले ऋणात्मक छ । म व्यक्तिगत रुपमा हरेक क्षेत्र र प्रयासलाई सकारात्मक रुपमा हेर्ने व्यक्ति हुँ । म सकेसम्म होइन, छैन र हुँदैन भन्ने शब्द प्रयोग पनि गर्दिन । हामी आफैँमा सम्पन्न र सक्षम छौँ ।
हाम्रो अर्थतन्त्र सानो भएकाले रिकभर हुन सजिलो पनि छ । त्यसैले हाम्रा रणनीतिहरु कुनै बाहिरी प्रभावभन्दा पनि हाम्रो माटो र हाम्रो स्थिति परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले आज पनि म भन्छु, हामीले लिने साना तर सकारात्मक प्रयासहरुले पनि हामीलाई ठूलो प्रतिफल दिनेछन् । यसका लागि सबैको सकारात्मक सोच र सत्प्रयास आवश्यक छ ।
हाम्रा युवाहरुका सपना खाडीमा खेर जान नदिऔँ । उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिऔँ । रित्तिएका पहाड र बस्तीको माटो हराभरा बन्न सक्छ । यसका लागि पनि नेपालको निजी क्षेत्रलाई थप हौसला प्रदान गर्नुपर्छ । हामी भूकम्पपछि कसरी उठ्यौं ? अनि कोभिडपछि कसरी तंग्रियौं ? यी दु:खबाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।
सबै मिलेर यही वातावरण निर्माण गरौँ र आजैदेखि अर्थतन्त्रलाई सबल बनाऔँ भनेर हामीले आजको यस गरिमामय सभामा यहाँहरुसामु पाँच बुँदे प्रतिबद्धता पत्र पेस गरेका छौँ । यसमा हामीले यहाँहरुको प्रतिबद्धताको अपेक्षा गरेका छौँ ।
अहिले निराशा र अविश्वास बढेका बेला यहाँहरुले यी प्रतिबद्धता जनाइदिनुभएमात्रै पनि सकारात्मक सन्देश जाने मैले अपेक्षा गरेको छु । यहाँहरु समक्ष यसका लागि हार्दिक अनुरोध गर्दछु ।
नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बीआईएको खाका मन्त्रिपरिषदबाट पारित भएको छ । म यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । अब छिट्टै नै हामीले सुधारका लागि तयार पारेका १२ वटा ऐन र नियमावली पनि पारित हुने अपेक्षा गरेका छौँ ।
आजको यस कार्यक्रममा मुलुकभरबाट करिब एक हजारभन्दा बढी उद्यमी व्यवसायी भेला भएका छौं । व्यवसायी र आम सर्वसाधारणको मुहारमा मुस्कान छर्न राजनीतिक नेतृत्व र हामीले धेरै काम गर्नुछ । यो निराशालाई आशामा परिणत गर्नुछ । अबको दुई दिनपछि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । सम्माननीय प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, नेतृत्व वर्ग नयाँ वर्षमा हामी व्यवसायीहरुले यहाँहरुबाट के सन्देश लिएर जाने अब यो यहाँहरुको हातमा छ ।
(नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसमा अध्यक्ष ढकालले व्यक्त गरेको धारणा)
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal