डीआर आचार्य
२०८० चैत २८, बुधबार १३:३६
कास्की । पोखरा महानगरपालिका-३२ कटुन्जेका वसन्तराज कोइरालाको परिवारलाई २०५८ सालमा अव्यवस्थित बसोबासी प्रमाणित गर्दै सुकुम्बासी समस्या समाधान आयोगले १४ रोपनी जग्गा भोगचलनका लागि ‘सेतो पुर्जा’ प्रदान गर्यो । त्यस अघिसम्म ‘घर न थर’को भएको कोइराला परिवार त्यसपछि आफ्नै जमिन खनिखोस्री गरेर खान सक्ने अवस्थामा पुग्यो ।
तर, परम्परागत खेती गरेर १४ रोपनी जग्गाबाट ठूलो प्रतिफल लिन सक्ने अवस्था थिएन । छोरा किशोरमा कमाउने र परिवारको आर्थिक स्थिति सुधार्ने जोश, जाँगर र ऊर्जा पलाउँदै थियो । उमेरले १४ वर्षमात्र भए पनि कृषि कर्मबाटै कमाउने सोच उनमा थियो ।
‘तर सबै कुरा आफूले भनेजस्तो नहुने रहेछ,’ उनले भने, ‘६१-६२ सालमा बुवाले अर्को बिहे गरेपछि परिवारको सबै जिम्मेवारी ममाथि थपियो । भाइ सानै थियो । उसको शिक्षादिक्षा पनि मेरो काँधमा आयो ।’
सबै व्यवहार मिलाउन खेतीपातीको आयआर्जनले नपुग्ने भएपछि १२ कक्षा सकिनासाथ उनी २०६४ भदौमा विदेश जान बाध्य भए । त्यतिबेला उनी १९ वर्षका मात्र थिए । यूएईको फथिमा सुपरमार्केटमा पाँच वर्ष काम गरेर फर्किए र फेरि खेतीमै १० नङ्ग्रा खियाउन थाले ।
उनी कतै सानोतिनो भए पनि स्थायित्व मिल्ने जागिरको खोजीमा थिए । नभन्दै २०७६ सालमा पोखरा विश्वविद्यालयमा प्रशासन सहायक (स्थायी) पदमा नाम निकाले । ‘खेतीको काम गर्दै भरपर्दो जागिरको पनि खोजीमा थिएँ,’ उनले भने, ‘त्यही बीचमा पोखरा विश्वविद्यालय सेवा आयोगले भ्याकेन्सी खुलायो, राम्रो पढेर परीक्षा दिएँ, सफल पनि भएँ, अहिले सझिँदा धन्न नाम निस्किएछ जस्तो लाग्छ ।’
तर, कृषि पेसामा केही गर्ने सोच उनमा उत्तिकै थियो । बिहान-बेलुकाको समय घरपायक खेतीमा लगाउन पाए थप आय आर्जन गर्न सकिने विचारले उनले २०७७ सालमा आमा मैया कोइरालाको नाममा कटुन्जे बहुद्देश्यीय कृषि फर्म दर्ता गरे ।
कोरोना कहरका बेला सुरु गरेको कृषि फार्ममा व्यक्तिगत १२ लाख रुपैयाँ हाराहारी लगानी भयो । बाख्रा, कुखुरा र बंगुरपालन गरेर राम्रो आम्दानी हुन थाल्यो । फार्म विस्तार हुँदै गयो । परिवारका सदस्यमात्र खटेर पुगेन । समय दिन उनी त्यति भ्याउँदैन थिए । काम गर्ने मान्छे राख्नुपर्ने स्थिति आयो । थप चार जनालाई जनही मासिक २० हजार पारिश्रमिक दिने गरी रोजगारी दिए ।
आम्दानी राम्रो भइरहेको थियो । अझै बढाउने विचारले उनले २०७८ सालमा राष्ट्रिय वाणिज्य बैंकबाट थप २० लाख रुपैयाँ कर्जा लिए र लगानी गरे । लगानी बढेपछि आम्दानी पनि बढ्यो । वार्षिक २८-३० लाख रुपैयाँको कारोबार गरिरहेका थिए ।
सरकारले कृषिलाई उच्च प्राथमिकतामा राख्ने भनेर विभिन्न सार्वजनिक फोरमहरु उद्घोष गरिरहेको थियो । केही वर्षयताका बजेटले पनि कृषिलाई प्राथमिकता दिइरहेका थिए । त्यसले पनि उनलाई हौस्याएको थियो ।
तर, सरकारका प्रतिबद्धता, बजेट र कामगराइबीच कुनै तादात्म्य थिएन । बजार सुरक्षित भएन । विचौलियाको बिगबिगी बढ्दै गयो । उत्पादनको विविधीकरण हुन सकेन । किसानलाई प्रशोधनका तौरतरिका सिकाइएन । व्यवस्थित भण्डारण गृह बनेनन् । दानाको मूल्य अप्रत्यासित ढंगले बढ्यो । उत्पादनले बजार नै पाउन नसकेपछि कृषि पेसा झन् धराशयी बन्दै गयो । त्यसको घानमा परे किशोर पनि ।
पेसा धराशयी भएपछि रोजगारी दिइरहेका युवालाई काममा बोलाइरहन सकेनन् । खोरमा भएका सयवटा बंगुरलाई दाना खुनाउन सक्ने स्थिति पनि रहेन र बेच्ने विचार गरे । लामो समयको प्रयासमा पनि बंगुर नबिकिरहेका बेला थापा कृषि तथा पशु फार्म प्रालिका सञ्चालक राजु थापा पुगे र सबै बंगुर किनिदिने बताए ।
अफ्ठ्यारोमा परेको थाहा पाएरै हुनसक्छ- थापाले उनीसँग चर्को बार्गेनिङ गरे । ‘करिब १५-१६ लाख रुपैयाँका सयवटा बंगुर ६ लाख ४९ हजारमा उधारो दिन बाध्य भएँ,’ कोइरालाले भने, ‘तर त्यही ब्याक डेटको चेक अहिले मेरो लागि गलपासो बनेको छ ।’
कोइरालाले २०७९ चैतमा बंगुर जिम्मा लगाए । बदलामा थापाले २०८० जेठ २० को मितिको २ लाख, असार २० को मितिको २ लाख र साउन २० को मितिको २ लाख ४९ हजार रुपैयाँको हिमालयन बैंकको चेक थमाए । बंगुर बिकेपछि अलि सजिलो भयो । उनी नियमित दिनचर्यामा लागे । दिउँसो अफिस जाने उनी फुर्सद पाउनासाथ कुखुरा र बाख्राको स्याहारमा आमा र श्रीमतीलाई साथ दिन्थे ।
जेठ २० पछि आफ्नो खाता भएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक गए र चेक जम्मा गरे । तर, चेकमा पैसा नभएकाले ‘क्लियरेन्स’ हुन सकेन । थापालाई खबर गरे । ‘नआत्तिनुस् न भइहाल्छ नि !’ थापाले दिएको आश्वासन उद्धृत गर्दै उनले भने ।
समय बित्दै गयो । साउन २० पनि गुज्रियो । कुनै पनि चेक साटिएनन् । ‘पैसा भइहाल्छ’, ‘नआत्तिनुस्’ भन्ने आश्वासन थापाबाट पाइरहे । सधैं यस्तै आश्वासन सुनिरहँदा उनमा शंका बढ्न थाल्यो । त्यसबीचमा उनले थापाबाट ठगिएका अरु मानिस पनि भेटे । अरुले भनेको पनि सुने ।
‘उनीहरु (राजु थापा र छ्याम थापा)को नियत नै खराब रहेछ,’ उनले भने, ‘धेरै किसानलाई पुरानो मितिको चेक दिने, पैसा भइहाल्छ भन्दै झुलाउने अनि चेकको वैधता सकाइदिने र पैसा नदिने गर्दा रहेछन् ।’
त्यति थाहा पाएपछि उनले समय सकिनुअगावै २०८० मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा राजु थापाविरुद्ध बैंकिङ कसुरमा उजुरी दिए । ‘मैले उजुरी दिनासाथ प्रहरीले हिमालयन बैंकसँग कागजातको वैधता माग्यो,’ उनले भने, ‘बैंकबाट कागजात रुजु भएको प्रमाणित भएपछि पुसमा थापाविरुद्ध पक्राउ पुर्जी जारी भयो र पक्राउ गर्न जिप्रकाले रामबजार चौकीलाई पत्र काट्यो ।’
कोइरालाका अनुसार रामबजार चौकीबाट बैंकिङ कसुरका प्रतिवादी थापाको घर सय मिटर दूरीभित्र छ । तर, प्रहरीले थापालाई कहिल्यै भेटेन । ‘पटक-पटक धाउँदा पनि प्रहरीले वास्तै गरेन,’ उनले भने, ‘मैले थापाको घरको नक्सा दिएर, घरै देखाइदिँदा पनि प्रहरीले पक्राउ गरेन, अहिले त समय पनि गुज्रियो ।’
प्रतिवादी थापालाई पक्राउ गर्न वास्ता नगरेको तीन महिना बितेपछि ‘फेला नपरेको’ भन्दै रामबजार चौकीले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठायो । ‘एक साताअघि जिल्ला प्रहरी कार्यालयले प्रतिवादी पक्राउ नपरेकाले मुद्दाको प्रक्रिया अघि बढाउन साक्षी लिएर आउनु भनेर बोलायो,’ कोइरालाले भने, ‘अब फेरि मुद्दाको प्रक्रियामा जानुपर्ने भएको छ, कृषि कर्म गर्दाको फल भोग्दैछु ।’
रामबजार चौकीका इन्चार्ज एवं प्रहरी निरीक्षक विनोद श्रेष्ठले भने चालु मुद्दाका फरार अभियुक्त नै धेरै हुने भएकाले बैंकिङ कसुरको प्रतिवादीलाई पक्राउ गर्न फुर्सद नहुने प्रतिक्रिया दिएका छन् ।
‘पहिलो कुरा त प्रतिवादी आफैं पनि उपस्थित हुनसक्ने, आफैं पनि अग्रसर भएर आउन सक्ने अवस्था रहोस् भनेर तीन महिना प्रहरीले बैंकिङ कसुरका प्रतिवादीलाई खोजी गरी-गरी पक्रिने नगरेको हो,’ उनले भने, ‘तीन महिनाभित्र पक्राउ परेन अथवा उपस्थित भएन भने प्रहरीले मुद्दा प्रक्रिया अघि बढाउँछ ।’
बैंकिङ कसुरको मुद्दामा बढीमा एक वर्षभित्र अदालतबाट फैसला भइसक्ने भएकाले पीडितले धेरै दुःख नपाउने उनले बताए । तर, प्रहरी चौकीबाट सय मिटर दूरीमा घर भएको र पक्राउ पुर्जी जारी भएको बैंकिङ कसुरको प्रतिवादीलाई किन समात्नुभएन ? भन्ने प्रश्नमा उनले फरार अभियुक्त धेरै हुने भएकाले प्रतिवादीलाई समात्न नभ्याइने जवाफ दिइरहे ।
‘बैंकिङ कसुरमा दैनिक १०-१२ वटा मुद्दा दर्ता हुन्छन्, हामीसँग जम्मा ५० जना प्रहरी हुन्छन्,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘कसरी भ्याउने तपाईं नै भन्नुस् न !’
प्रहरीले गरेको बेवास्तालाई लिएर स्थानीय बुद्धिजीवीले पनि असन्तुष्टि जनाएका छन् । ‘किसानमाथि ज्यादति गर्नेहरुमाथि प्रहरीले यसरी प्रक्रियाका नाममा बेवास्ता गर्ने हो भने निराशा थप बढ्ने निश्चित छ,’ पोखरा विश्वविद्यालयका सह-प्राध्यापक डा. रविन्द्र घिमिरे भन्छन्, ‘यस्ता विषयमा प्रहरी प्रोएक्टिभ हुनुपर्छ, सरकारी निकायको यस्तै प्रवृत्तिका कारण युवामा निराशा बढ्ने हो, जो अहिले भइरहेको छ ।’
किसानमाथि सबैतिरबाट दोहन भइरहेको उनले बताए । ‘उत्पादित फलफूल, तरकारी, दुध र मासु नबिकेर धेरै किसान निराश छन्, धेरै पलायन भइसकेका छन्,’ डा. घिमिरेले भने, ‘सरकारले कृषि कर्ममा आबद्ध भएका युवालाई प्रोत्साहन गर्न त सकेन नै, आफ्नै बलबुतामा केही गर्छु भन्नेहरुलाई पनि विचौलियाको चंगुलमा पर्नबाट रोक्न सकेन, जुन निकै दुःखद् कुरा हो ।’
बैंकिङ कसुरका प्रतिवादी थापा भने पटक-पटक प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal