काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर आईपीओ पर्नेले ७ कारोबार दिनमै ३६ हजार कमाएका छन् । चैत ६ देखि दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको आईपीओ पर्नेले आज (बिहीबार) सम्ममा ३६ हजार ९० रुपैयाँ कमाएका हुन् ।
कम्पनीको आईपीओ ५५ हजार ५२१ जनालाई परेको छ । पहिलो पटक बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले खुला भएको सेयरको चैत ६ गते दोस्रो बजारमा कारोबार सुरु भएयता लगातार सकारात्मक सर्किट लागिरहेको छ ।
सात कारोबार दिनमा लगातार सर्किट लाग्दा बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८२ रुपैयाँ ७० पैसा पुगेको हो । ५० कित्ताका लागि १८ हजार ४५ रुपैयाँ तिरेका लगानीकर्ताको सम्पत्ति बिहीबार ५४ हजार १३५ रुपैयाँ पुगेको छ ।
एक सातामा कम्पनीको कुल सेयर मूल्य ३४ अर्ब रुपैयाँ बढेको छ । कम्पनीको बजार पुँजीकरण १६ अर्ब ७८ करोडबाट बढेर ५० अर्ब ३४ करोड पुगेको हो ।
कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर प्रतिकित्ता ३६०.९० पैसाका दरले सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीले फागुनमा ६० लाख कित्ता प्राथमिक सेयर बिक्री गरेको थियो ।