झापा । झापामा जंगली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५३३ परिवारले राहत नपाएका हुन् ।
डिभिजन वन कार्यालयले भने उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ । पाँच जना मृतक परिवारसहित ५३३ घरपरिवारका लागि एक करोड २६ लाख ४९ हजार ३९२ रुपैयाँ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताइन् ।
कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको उनले जानकारी दिइन् । हालसम्म राहत रकम प्राप्त भएको छैन । ‘राहत रकमका विषयमा फोन आइरहन्छ,’ उनले भने, ‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।’
कात्तिक २ सम्म ३२१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार ९४० रुपैयाँ र माघ २९ गते थप २१२ जनाका लागि ६८ लाख २० हजार ४५२ रुपैयाँ माग गरिएको थियो ।
राहत माग गरिएकामा पाँच जना मृतकका परिवारका लागि ५० लाख, सात जना घाइतेका लागि आठ लाख ५१ हजार ८९२, चौपाया एकबराबर १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिका लागि २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्नको क्षतिका लागि ६ लाख ८९ हजार ६ सय र बालीनालीमा हात्तीले गरेको क्षतिबराबर ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।