• Menu

सुपारी बगानमा तरकारी रोपेर दोहोरो आम्दानी गर्दै इलामका किसान

नेपाल प्रफिट

२०८० चैत ९, शुक्रबार १३:२९

सुपारी बगानमा तरकारी रोपेर दोहोरो आम्दानी गर्दै इलामका किसान

इलाम । इलामको माई नगरपालिका-९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको बगानमा पाँच हजार बोट सुपारी छन् ।

‘केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्,’ उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो ५० रुपैयाँका दरले बिक्ने गरेको छ ।’

घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने उनको योजना छ । त्यसका लागि नयाँ बोट थप गरी खेती विस्तार गर्ने तयारी गरिरहेका छन् ।

‘यस वर्ष सुपारी बेचेरे तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ,’ उनले भने, ‘बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० किलोसम्म उत्पादन हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।’

अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोपेका छन् । करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट सुपारी रोपेका हुन् । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनी बताउँछन् ।

‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ,’ उनले भने, ‘बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा बगानबाटै बिक्री हुन्छ । उनले यस वर्ष सुपारी खेतीबाट एक लाख आम्दानी गरे ।

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारीखेती सुरु गरका छन् । ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा उनले सुपारी खेती गरेका छन् ।

उनले एक हजार सुपारीका बोट लगाएका छन् । ‘मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कंदै छन्,’ उनले भने, ‘नयाँ बगान भएकाले फल भने लागको छैन ।’

यहाँका करिब ७० घर किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् ।

बाँझो जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरुले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताए ।

यससँगै इलाममा सुपारीको खेती विस्तार भएको छ । यस वर्ष इलाममा ६१० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए ।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङ्सेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्