• Menu

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

नेपाल प्रफिट

२०८० फागुन २५, शुक्रबार ११:२९

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवर्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

यौनिकता शिक्षाका कारण लागु औषध प्रयोगमा कमी, स्वास्थ्य सेवाको प्रेषण संख्यामा वृद्धि, लैंगिक हिंसा, लाञ्छना तथा भेदभावमा समेत न्यूनीकरण भएको जनाउँदै उनीहरुको संविधानप्रदत्त प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग गरेका हुन् ।

नेपाल परिवार नियोजन संघद्वारा हेल्भिटास नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार आयोजित छलफलका सहभागी किशोरकिशोरीले आफूहरुलाई थप बृहत् यौनिकता शिक्षाको आवश्यकता रहेको औँल्याउँदै यसको पहुँचबाट वञ्चित नगर्न सरोकारवालासँग आग्रह गरका हुन् ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । दुई दशकदेखि संघले बृहत् यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा निरन्तर पैरवी गर्दै आएको छ भने हेल्भिटास नेपालले कर्णाली र मधेस प्रदेशमा ‘प्रमोसन अफ युथ इन्गेजमेन्ट इन लोकल गभर्नेन्स’ कार्यक्रममार्फत किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुवै सस्थामा आबद्ध किशोरकिशोरीलाई बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा थप सचेत र सुसूचित एवं अनुभव आदानप्रदान गराउने ध्येयले अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको, विवाहको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ ।

यसैगरी १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन् । यो अवस्थालाई मध्यनजर गर्दै बृहत् यौनिकता शिक्षा आवश्यकता भएको खाँचो भएकाले संघले यही सेरोफेरोमा कायम बृहत यौनिकता शिक्षाले सम्बन्ध, मूल्य अधिकार, संस्कृति र यौनिकता, लैंगिकतामा बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका लागि सीप, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार र यौनिकता तथा प्रजनन स्वास्थ्यलाई प्रवर्धन गर्दछ ।

कार्यक्रममा संघका अध्यक्ष हिमालयलाल कसजूले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिकता शिक्षा युवाको आवश्यकता र सरकारको दायित्व रहेको बताए । ‘सरकारको सहयोगीका रुपमा संघले किशोरकिशोरी तथा युवा, एचआइभी/एड्स, सुरक्षित गर्भपतन, सेवाको पहुँच, किशोरकिशोरीलाई उमेरअनुसारको सूचना, शिक्षा र सिकाइजस्ता कार्यक्रम सञ्चालन गरिराखेको छ,’ उनले भने ।

हेल्भिटास नेपालका राष्ट्रिय निर्देशक डा. प्रवीण मानन्धरले शरीर, स्वास्थ्य र भविष्यका बारेमा किशोरकिशोरीलाई सक्षम बनाउन लगानी बढाउनुपर्ने खाँचो औंल्याए । ‘जिम्मेवार एवं दक्ष जनशक्तिले मात्र परिवर्तन सम्भव छ । यसका लागि किशोरकिशोरीले आफ्नो क्षमतालाई तिख्खर बनाउँदै भविष्यको नेतृत्व लिने आँट देखाउनुपर्छ । समानता र  समावेशीता  व्यवहारतः कार्यान्वनमा आएको छैन,’ उनले भने ।

संघका केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले लैंगिकताका आधारमा सबै वर्ग, उमेर र समुदायको सामाजिक, अर्थिक र मानवीय विकासमा समान पहुँच र समावेशीताको सुनिश्चित गर्न आवश्यक रहेका जनाउँदै महिला समानता अधिकारका लागि बनेका ऐन कानुन कार्यान्वयनको अवस्था फितलो रहेको टिप्पणी गरिन् ।

संघका कार्यकारी निर्देशक डा. प्रवीण शाक्यले किशोरकिशोरीबीचको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा बृहत् यौनिक शिक्षासम्बन्धी छलफलले उनीहरुलाई सबलीकरण, सक्षम  बनाउन र भविष्यमा युवामैत्री नीति बनाउन र यसको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमको दोस्रो सत्रमा निर्देशक डा. वीना श्रेष्ठ, जेन्डर तथा एड्भोकेसी प्रमुख जमुना सिटौला र संघका उपत्यका शाखाका प्रबन्धक शरद अर्यालले संघद्वारा प्रदान गरिरहेका किशोरकिशोरीका सेवा र अभियानका बारेमा जानकारी गराए । कार्यक्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, मेरो शरीरः मेरो अधिकार, युवाको अर्थपूर्ण सहभागिता र लैंगिक हिंसाका विषयमा सहभागीलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा संघका विभिन्न समुदाय, अपांगता भएका युवा, यौनकर्मी महिला, एचआईभी संक्रमित युवाले आफ्नो अनुभव र सिकाइ र संघमा आबद्ध भएर क्षमता अभिवृद्धि कसरी भयो भन्ने कुरालाई प्रस्तुत गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका विश्व युवा सञ्जालकी नेपालकी प्रतिनिधि वर्षा पाण्डेले आफ्नो अनुभव प्रस्तुत गरिन् ।

प्रतिक्रिया दिनुहोस्