काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकबाट बचत फिर्ता गर’, ‘यो बैंक खत्तम हुँदैछ’ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन् ।
‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं,’ चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।
समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने उनले स्पष्ट पारे । ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु, बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन,’ उनले भने ।
लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री महतले उल्लेख गरे । लघुवित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
लघुवित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको छ । यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले उल्लेख गरे । ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघुवित्तमा जोडिएको सबै बचतकर्ता मिलेर यसको प्रतिवाद गर्नुपर्छ,’ उनले भने, ‘सँगसँगै लघुवित्तलाई स्वस्थ, पारदर्शी तथा गरिब र विपन्नलाई केन्द्रित बनाउनुपर्छ, लघुवित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’
लघुवित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्न नहुने उनको भनाइ छ । ‘फाइदा उठाइहालौं’ भन्नेहरुलाई निरुत्साहित गर्न मन्त्री महतले आग्रह गरे । दुःख-सुख गरेर सानो-सानो लघुवित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए ।
‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ । लघुवित्तको सञ्चालक बनेर जसले उद्देश्यविपरीत काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् भने त्यसलाई तपाईंहरु सबै मिलेर निरुत्साहित गर्नुपर्छ,’ मन्त्री महतले भने ।
२०४६ सालको परिवर्तनपछि लघुवित्त फस्टाएको भन्दै उनले गरिबी निवारणमा लघुवित्त र सहकारीको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । ‘उद्देश्यभन्दा टाढा गएकाले सहकारीमा समस्या आएको हो,’ उनले भने, ‘तर राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा भएकाले लघुवित्तलाई पुरानै लयमा फर्काउन काम सुरु भएको छ । लघुवित्तलाई विपन्न नागरिक र महिलाको सशक्तीकरण र उत्थान गर्ने माध्यमको रुपमा हामीले अगाडि बढाउनुपर्छ ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईंतर्फ लक्षित गर्दै उनले ‘लिएको ऋण तिनुपर्ने आवश्यकता छैन’, ‘सबै हामी मिलाइदिन्छौं’, ‘हामीलाई सहयोग गर’ भनेर आश्वासन दिइएको बताए ।
‘ऋणीको भावनामा खेल्ने प्रयास भइरहेको छ, यसलाई चिर्न जरुरी छ,’ मन्त्री महतले भने, ‘बचतकर्ताको लगानी खोसेर ऋण माफी हुन सक्दैन । अर्बौं अनुदान दिन सक्ने अवस्था राज्यसँग छैन । त्यसकारण बेलैमा सचेत भएर जे दायित्व हो, त्यो पूरा गर्नैपर्छ ।’
राज्यले ऋण तिर्न समय थप गर्ने र ब्याज कम गर्नका लागि सहजीकरण गर्न सक्ने उनले स्पष्ट पारे । ‘राष्ट्र बैंकले पनि त्यस किसिमको नीति ल्याएको छ तर तिर्नै पर्दैन भन्ने जुन प्रवृत्ति छ, यो प्रवृत्तिको जुन मनसाय छ, त्यसलाई हामीले पर्दाफास गर्नुपर्छ,’ मन्त्री महतले भने ।