काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकारको विषयमा भ्रम सिर्जना भएको बताएका छन् । बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिकका क्रममा बजेट कटौती भएको भनेर समाचार सम्प्रेषण भएकोमा उनले गम्भीर ध्यानाकर्षण भएको बताए ।
माघ २९ मा बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्रीले बजेटको खर्च अनुमान गरेका थिए । चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका महतले १५ खर्ब ३० अर्ब २६ करोडमात्रै खर्च हुने अनुमान गरेका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ मा ८७.३८ प्रतिशतमात्रै खर्च हुने उनले बताएका थिए ।
‘संसदले पारित गरेको कुरा हामीले बीचमा कटौती गर्न सकिँदैन,’ शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले भने, ‘समीक्षाका क्रममा जसरी समाचार आयो, यसमा गम्भीर ध्यानाकर्षण भएको छ ।’
महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशतमात्रै खर्च हुने जानकारी दिएका थिए । त्यस्तै चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशतमात्रै खर्च हुने अनुमान गरिएको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान अर्थमन्त्रीले गरेका थिए । स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व १० खर्ब ६९ अर्बमात्रै उठ्ने अनुमान अर्थमन्त्री महतको थियो । राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख उठ्ने अनुमान महतले प्रस्तुत गरेका थिए ।
बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड अनुमान गरिएकोमा १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख हुने अनुमान उनले गरेका थिए । त्यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान गरिएकोमा ४० अर्ब १२ करोड ९ लाखमात्र हुने उनले अनुमान गरे ।
बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको पनि बताएका थिए । अहिले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको उनको दाबी थियो ।
‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ उनले भनेका थिए, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो ।’