• Menu

अर्थ मन्त्रालयमा बस्यो लगानी सम्मेलन निर्देशक समितिको बैठक, कानुनी र नीतिगत सुधारका विषयमा छलफल

नेपाल प्रफिट

२०८० माघ २५, बिहीबार १५:०२

अर्थ मन्त्रालयमा बस्यो लगानी सम्मेलन निर्देशक समितिको बैठक, कानुनी र नीतिगत सुधारका विषयमा छलफल

काठमाडौं । तेस्रो लगानी सम्मेलनलाई लक्षित गरी तयार भएको नीति, कानुन तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालयमा लगानी सम्मेलन निर्देशक समितिको बैठक बसेको छ ।

मन्त्रालयमा बिहीबार बसेको निर्देशक समितिको बैठकमा कानुनी उल्झन, नीतिगत समस्या तथा संरचनागत सुधारलगायतका विषयमा छलफल भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताए । उनले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेकाले गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन पनि दिए ।

लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिन लगानी सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ ।

निर्देशक समितिका संयोजकसमेत रहेका मन्त्री महतले आगामी जुनमा विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्था (आईडी)को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको पनि जानकारी दिए ।

‘औपचारिक पत्र केही दिनमा आउँदै छ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधिको सम्मेलनमा सहभागी रहनेछ,’ उनले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले लगानी सम्मेलनलाई लक्षित गरी हालसम्म विभिन्न क्षेत्रका १०५ वटा योजना वर्गीकृत भइसकेको जानकारी दिए । निजी क्षेत्रबाट समेत थप योजना आउने प्रतिबद्धता आइरहेको उनले बताए ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. पोषराज पाण्डेले विदेशी लगानी सहज ढंगले भित्र्याउने र लगानी सुरक्षित बनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । लगानीका लागि सहज वातावरण बनाउन सके सम्मेलनको सार्थकता थप बढ्ने उनको भनाइ छ ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको दायरा फराकिलो बनाउनुपर्ने बताए । ‘वातावरणमैत्री उद्योग निर्माणका लागि नीतिहरू सहज बनाउन आवश्यक छ,’ उनले भने ।

नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधारका सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बैठकमा तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजना तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण दिएका थिए । प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ ।

लगानी सम्मेलनसम्बन्धी समग्र तयारीबारे लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विस्तृत प्रस्तुतीकरण दिएका थिए ।

छलफलमा सरोकारवाला मन्त्रालयका मन्त्री, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्