काठमाडौं । मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि महासंघले विज्ञप्ति जारी गरेर विरोध जनाएको हो ।
महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह गरेको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको महासंघले जनाएको छ ।
महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ पनि महासंघले सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको विषयमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो ।
व्यवसायी चौधरीलाई हठात् पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसंघले पनि विरोध जनाइसकेको छ ।