सेयर बजारमा ऋण लिएर गरिने लगानी दीर्घकालीन नभई अल्पकालीन हो । बचतबाट गरिने लगानी भने दीर्घकालीन र अल्पकालीन दुवै हुनसक्छ । ऋण लिएर पाँच वा दस वर्षका लागि सेयरमा लगानी गरिँदैन । उद्योगमा गरिन्छ । घरमा गरिन्छ । जग्गामा गरिन्छ । जलविद्युत जस्तो आयोजनामा गरिन्छ ।
ऋण लिएर सेयरमा पैसा लगाउनुको प्रमुख उद्देश्य भनेको नै अल्पकालमा सट्टेबाजी गर्नु र लक्ष्यअनुसारको नाफा वा नोक्सान जे भए पनि बजारबाट निस्कनु हो ।
जब बजारमा ऋणको प्रवेश बढ्दै जान्छ, त्यसले बजारलाई बढीभन्दा बढी सट्टेबाजीयुक्त बनाउँदै जान्छ । यसले बजारलाई वास्तविकताभन्दा धेरै टाढा धकेलिदिन पनि सक्छ । अर्कोतर्फ बजारलाई चलायमान र मनोरन्जनपूर्ण बनाउनका लागि पनि सेयर बजारमा एउटा तहको सट्टेबाजी भइरहन आवश्यक छ ।
सामान्यत: ठूलो पुँजीमा नाफाको विवेकी र प्रतिस्पर्धी लक्ष्य हुन्छ । जस्तो कि ब्याजदरभन्दा कति बढी नाफा भए निस्कने, सोही पुँजी अर्को विकल्पमा लगाउँदाभन्दा कति बढी नाफा भए बजारबाट निस्कने जस्ता स्पष्ट र योजनाबद्ध लगानी हुन्छ ।
तर, सानो पुँजीमा आशा बढी अनि सुरक्षाका उपाय कम हुने गर्छन् । त्यसैले सानो पुँजीले सट्टेबाजीभन्दा तालिकाअनुसार नियमित रुपमा केही खास कम्पनीमा दीर्घकालीन लगानी गर्न सके त्यसले तनाव र जोखिम कम गर्न मद्दत गर्छ । यो नै दीर्घकालमा सम्पत्ति बनाउने राम्रो उपाय हुनसक्छ ।
जब अल्पकालीन लगानीकर्ताले बजारलाई दबाबमा राखेर खेल खेल्छन्, त्यसबेला सेयरको मूल्य झन् भन्दा झन् माथि जानेछ । यसले अल्पकालीन लगानीकर्तालाई थप लोभ्याउने र सेयरको मूल्यलाई वास्तविकताभन्दा धेरै माथि धकेलिदिन्छ ।
यसका कारण दीर्घकालीन लगानीकर्तालाई पनि आफूले सेयर होल्ड गरेर केही गल्ती पो गरेको हो कि भन्ने लाग्न पनि सक्छ । सट्टेबाजीले दबाबमा राखेको सेयर बजारको बबल अनन्तसम्म तन्किइरहन सक्दैन । अन्तत: बबल फुट्न जान्छ र बजार क्र्यास हुने वा निरन्तर ओरालो लाग्ने हुन्छ ।
(सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईको फेसबुकबाट)