काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारअन्तर्गत सुधन गुरुङ गृहमन्त्री तथा महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीद्वयले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।
गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा थिए। सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि लागेको आरोपमा सफाइ दिएपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।
त्यस्तै, महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहिसकेका छन्। फागुन २१ गतेको निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागिता जनाएका थिए।
गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। मन्त्रिपरिषद् विस्तारसँगै सरकारले प्रशासनिक तथा विकासका प्राथमिकता अघि बढाउने अपेक्षा गरिएको छ।