• Menu
s

नेपालमा पहिलो पटक ‘जेडब्ल्यु म्यारियट’ ब्रान्डको लक्जरी होटल खुल्ने, क्यापिटल होटल र म्यारियट इन्टरनेसनलबीच सम्झौता

नेपाल प्रफिट

२०८३ जेठ २६, १७:१७

नेपालमा पहिलो पटक ‘जेडब्ल्यु म्यारियट’ ब्रान्डको लक्जरी होटल खुल्ने, क्यापिटल होटल र म्यारियट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सम्झौतासँगै नेपालमा पहिलो पटक जेडब्ल्यू म्यारियट ब्रान्डको होटल सञ्चालन हुने भएको छ।

एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले सोमबार उक्त सम्झौताको घोषणा गर्दै सन् २०३१ को प्रारम्भमा जेडब्ल्यू म्यारियट होटल काठमाडौं भ्याली सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ। यो म्यारियट इन्टरनेसनल र क्यापिटल होटलबीचको चौथो सहकार्य हो।

निर्माण हुने होटलमा २२१ वटा विलासी अतिथि कक्ष रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा रहने होटलबाट काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक तथा धार्मिक स्थलहरूमा सहज पहुँच हुने बताइएको छ।

होटलमा विभिन्न स्तरका भोजनालय, स्पा, फिटनेस केन्द्र, पौडी पोखरी, जेडब्ल्यू गार्डेन तथा १ हजार ६ सय वर्ग मिटरभन्दा बढी क्षेत्रफलमा कार्यक्रम तथा सभा आयोजना गर्न मिल्ने सुविधा रहनेछ।

सम्झौतामा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष राज मेननले हस्ताक्षर गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो।

सम्झौतापछि बोल्दै गौरव अग्रवालले म्यारियटसँगको सहकार्यले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र आतिथ्य परम्परालाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताए।

नयाँ होटलले काठमाडौंमा उच्चस्तरीय विलासी आतिथ्य सेवा विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

म्यारियट इन्टरनेसनल विश्वका अग्रणी होटल कम्पनीहरूमध्ये एक हो। कम्पनीका होटल तथा आवासीय सम्पत्तिहरू विश्वका १४६ देश तथा क्षेत्रहरूमा सञ्चालनमा रहेका छन्। नेपालमा जेडब्ल्यू म्यारियटको प्रवेशसँगै देशको लक्जरी हस्पिटालिटी क्षेत्रमा नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ।