• Menu
s

पोखरा महानगरले सरकारी जग्गाका अतिक्रमित संरचना हटाएपछि पृथ्वीचोक-नयाँबजार सडक फराकिलो, दुई लेन बनाइने

नेपाल प्रफिट

२०८३ जेठ २६, १७:२६

पोखरा महानगरले सरकारी जग्गाका अतिक्रमित संरचना हटाएपछि पृथ्वीचोक-नयाँबजार सडक फराकिलो, दुई लेन बनाइने

कास्की । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिका-९ पृथ्वीचोकदेखि हङकङ बजार, ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँबजार जोड्ने सडक चौडा भएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघसंस्थाले निर्माण गरेका भवनमा यही जेठ १८ गते महानगरपालिकाले डोजर चलाएको थियो ।

हङकङ बजारको पूर्वपट्टी रहेका संरचना भत्काइपछि सो क्षेत्रको सडक खुला र फराकिलो बनेको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त सडकलाई दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने बताए । उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

महानगरले पूर्वसूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो । विभिन्न दलगत संगठनदेखि विभिन्न सामाजिक संघसंस्थाले उक्त सरकारी जग्गामा भवन बनाई वर्षौँदेखि भाडासमेत असुल्दै आएका थिए ।

महानगरले अतिक्रमित संरचना हटाउने पूर्वसूचना गरेपछि संघसंस्था र व्यवसायीले भवन तथा सटर आफै खाली गरेका थिए । पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले दुई लेन सडक निर्माणका लागि बजेटसमेत सुनिश्चित भइसकेको बताए ।

सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन खाद्य संस्थान र नेशनल ट्रेडिङलाईसमेत पत्रचार गरिसकिएको उनको भनाइ छ । ‘उपत्यका नगर विकास समितिको जग्गा खाली भइसकेको छ, सडक मापदण्ड अनुसार रेखांकन पनि भइसकेको छ,’ वडाध्यक्ष मर्सानीले भने, ‘त्यहाँ रहेका अन्य सरकारी कार्यालयहरूलाई पनि सडक मापदण्ड कायम गराउन महानगरबाट पत्राचार गरिएको छ ।’

उक्त सडक बनेपछि पृथ्वीचोक र बसपार्क क्षेत्रको सवारी चाप कम हुनुका साथै ट्राफिक व्यवस्थापनमा सहजता हुने उनले बताए । अव्यवस्थित भवन र साँघुरो सडकका कारण त्यस क्षेत्रको आवागमन प्रभावित हुँदै आएको थियो । वडाध्यक्ष मर्सानीले बसपार्क क्षेत्रका अनधिकृत संरचना पनि हटाउन प्रकृया सुरु भइसकेको बताए । सडक मापदण्ड कायम गर्न प्राविधिक नापजाँचसमेत भइसकेको उनको भनाइ छ ।

बसपार्कको जग्गा मिचेर बनाइएका पसल कबललगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

नगर विकास समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रकृयामा सघाउन सूचित गरेको हो ।

नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको जग्गामा स्थानीयवासी, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन् । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन २०३२ सालमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ ।

बसपार्कको अतिक्रमित जग्गा खाली गराई प्रास्तावित आधुनिक पोखरा बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउने महानगरको योजना छ ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेको महानगरले जनाएको छ । वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गरी अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने महानगर प्रमुख आचार्यले बताए ।