• Menu
s

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको अग्रसरता, देशभर ७ वटै प्रदेशमा रोपिए १ हजार ५०० बिरुवा

नेपाल प्रफिट

२०८३ जेठ २६, १७:३७

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको अग्रसरता, देशभर ७ वटै प्रदेशमा रोपिए १ हजार ५०० बिरुवा

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले शनिबार काठमाडौंको बूढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा वृहत् वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ वडा नम्बर १ मा करिब २५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । यससँगै देशका अन्य प्रदेशहरूमा पनि वृक्षरोपण गरिएको बैंकले जनाएको छ। कोशी प्रदेशमा २००, मधेश प्रदेशमा २५०, गण्डकी प्रदेशमा २००, लुम्बिनी प्रदेशमा २००, कर्णाली प्रदेशमा २०० र सुदूरपश्चिम प्रदेशमा २०० वटा बिरुवा रोपिएको छ। यसरी देशभर कुल एक हजार ५०० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बूढानीलकण्ठ वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएको प्रत्येक बिरुवाले भावी पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे। बैंकले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको उनले बताए ।

बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग तथा अन्य सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि वातावरण संरक्षण, सामुदायिक विकास तथा दिगो भविष्य निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले हाल देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले पछिल्लो समय युवा लक्षित बचत खाता, डिजिटल बैंकिङ सेवा तथा विभिन्न नवीन वित्तीय सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।