
काठमाडौं । नेपाली विज्ञापन तथा सिर्जनात्मक क्षेत्रका अग्रणी व्यक्तित्व रञ्जीत आचार्य अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सञ्चार तथा दृश्य सामग्रीसम्बन्धी अवार्डको निर्णायक मण्डल सदस्यमा मनोनित भएका छन्। यससँगै विश्वस्तरको उक्त अवार्डको निर्णायक मण्डलमा पुग्ने पहिलो नेपाली सिर्जनशील व्यक्तित्वका रूपमा उनले नयाँ इतिहास कायम गरेका छन्।
कर्पोरेट चलचित्र, वृत्तचित्र, अनलाइन सामग्री तथा दृश्य कथनको क्षेत्रमा उत्कृष्ट कृतिहरूलाई सम्मान गर्ने उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा आयोजना हुँदै आएको छ । सन् २०२६ मा आयोजना हुने १७औँ संस्करणमा विश्वभरबाट सहभागी हुने चलचित्र निर्माता, विज्ञापन संस्था, प्रसारण संस्था तथा अन्य सिर्जनशील क्षेत्रका प्रतिनिधिहरूका कृतिको मूल्यांकन गर्ने जिम्मेवारी आचार्यले पाउनेछन् ।
विज्ञापन, ब्रान्ड रणनीति, चलचित्र निर्माण, सृजनात्मक निर्देशन तथा जनसम्पर्क क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव हासिल गरेका आचार्य नेपाली विज्ञापन उद्योगका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन्। उनको नेतृत्वमा रहेको संस्था नेपालकै सर्वाधिक पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा स्थापित छ। उक्त संस्थाले लगातार चार पटक ‘वर्षको उत्कृष्ट एजेन्सी’ उपाधिसमेत प्राप्त गरेको छ ।
आचार्यले कोकासँग सम्बन्धित चर्चित अभियानदेखि दूरसञ्चार क्षेत्रको ऐतिहासिक पुनःब्रान्डिङ अभियानसम्म नेतृत्व गर्दै नेपाली विज्ञापन क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन्। उनले सिर्जना गरेका धेरै नाराहरू नेपाली उपभोक्ताको दैनिक बोलचालको भाषाको हिस्सा बनिसकेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनले विभिन्न सम्मान प्राप्त गरेका छन्। अमेरिकाबाट प्रदान गरिएको बेल रिङ्गर अवार्ड, भारतको एबी अवार्ड तथा सिंगापुरमा प्रदान गरिएको उत्कृष्ट ब्रान्ड अवार्ड उनका उल्लेखनीय उपलब्धिमध्ये पर्दछन् ।
मनोनयनबारे प्रतिक्रिया दिँदै आचार्यले सिर्जनशीलताको कुनै सीमा नहुने उल्लेख गर्दै सत्य र प्रभावकारी ढंगले प्रस्तुत गरिएका कथाले विश्वमञ्चमा स्थान पाउने बताएका छन् । उनले यो उपलब्धि आफ्नो मात्र नभई विश्वस्तरमा पहिचान बनाउने सपना देख्ने सम्पूर्ण नेपाली सिर्जनशील समुदायको साझा सफलता भएको धारणा व्यक्त गरेका छन् ।
उनको मनोनयनलाई नेपालको विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपाली सिर्जनशीलता, कथा वाचन शैली र सञ्चार क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal