• Menu

डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम

नेपाल प्रफिट

२०८१ भदौ २४, सोमबार १०:०५

डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।

मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगंगा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए ।

‘तीस महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ,’ उनले भने, ‘राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।’

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

१३२/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो ।

भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि जेठदेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।

२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामले बर्खायाममा पनि तीव्रता दिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए ।

‘पक्की नाला बनाएर भूमिगत र सतहको पानीलाई व्यवस्थापन गरेर सबस्टेसनको संरचना बनाउन थालिएको हो,’ उनले भने, ‘सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ ।’ अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

१३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेको आयोजना प्रमुख अग्रवालले बताए । रघुगंगा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिका-९, १०, मंगला गाउँपालिका-१, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण स्थल हुन् ।

बेनी नगरपालिका-६ कोठेसाँघुमा रहेको एनएलटीको प्रसारण लाइनको सामग्री भण्डारण स्थलमा भदौ ८ गते रातिको बाढीले क्षति पुर्‍याएको थियो । दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवन निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट-मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

त्यस्तै ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

सबस्टेसनमा निर्माणमा भएको ढिलाइले राहुघाट नदीमा निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत् आयोजनालाई समस्या परेको तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत् आयोजना प्रमुख प्रकाश तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्