• Menu

ललितपुरको दक्षिणी भेग सडक, विद्युत र सञ्चार सम्पर्कविहीन

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १४:४१


ललितपुर । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत र सञ्चार सम्पर्कविहीन भएका छन् ।

विपत्तिका कारण महांकाल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

‘लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युतका पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन,’ उनले भने ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए । ‘माल्टामा दुई र आश्राङमा दुईवटा घर बगाएको छ, गिम्दीमा झोलुंगे पुल बगाएको छ, कतिपय स्थानमा खानेपानीको पाइप नष्ट भएका छन्, भट्टेडाँडामा एउटा गोठ पुरिएर ५ वटा दुहुना भैँसी पुरिएको जानकारी आएको छ,’ उनले भने ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका जानकारी दिए ।

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चारसम्पर्क, विद्युत र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्