• Menu

दसैँको अग्रिम टिकट लिन काउन्टरमा घुइँचो, यातायात व्यवसायी भन्छन्- टिकटको समस्या हुँदैन

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार ११:१९

दसैँको अग्रिम टिकट लिन काउन्टरमा घुइँचो, यातायात व्यवसायी भन्छन्- टिकटको समस्या हुँदैन

काठमाडौँ । सरकारले दसैँका लागि लक्षित गरी शनिबारबाटै अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड लागेको छ । शुक्रबारदेखि नै संघीय राजधानी काठमाडौँसहित देशभर अविरल वर्षा भए पनि शनिबार टिकट बिक्री खुला भएपछि बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाममा बसेका थिए ।

आइबार पनि बिहानैदेखि काउन्टरमा टिकट लिनेहरुको घुइँचो लागेको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमका दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वका ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीड लागेको छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने काउन्टरमै पुगिरहेका छन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाका अनुसार शनिबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई मर्का परेको बताए । उनले यसपालि दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गरे । ‘राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्न सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन,’ उनले भने ।

हरेक वर्ष दसैँ मनाउनका लागि राजधानी काठमाडौँबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् । सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्