• Menu

मौद्रिक नीतिमा गरिएका पाँच व्यवस्था, जसले सेयर लगानीकर्तामा बढायो उत्साह

डीआर आचार्य

२०८१ साउन १३, १५:३८

मौद्रिक नीतिमा गरिएका पाँच व्यवस्था, जसले सेयर लगानीकर्तामा बढायो उत्साह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मध्याह्न चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैगर्दा सेयर बजार लगानीकर्ता खासै उत्साहित थिएनन् ।

सेयर धितो कर्जामा लगाएको १५ र २० करोड रुपैयाँको सीमा हटाउनुपर्ने र जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने अपेक्षाका बीच आंशिक माग मात्र पूरा भएपछि उनीहरुको निराशा तत्काल सामाजिक सञ्जाल र मिडियामा छरपष्ट भयो । उनीहरुको अपेक्षाका बीच संस्थागत लगानीकर्ताका लागि तोकिएको २० करोड रुपैयाँको सीमा भने राष्ट्र बैंकले हटाउने निर्णय लिएको थियो ।

त्यो पनि धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायले सहमति प्रदान गरिएका ३४ धितोपत्र दलाल कम्पनीमार्फत प्रवाह हुने कर्जामा मात्र । व्यक्तिगततर्फको १५ करोडको सीमा भने यथावत् नै छ ।

राष्ट्र बैंकले अपनाएको लचकताको तुलनाभन्दा सेयर लगानीकर्ताका अपेक्षा मौद्रिक नीतिसँग धेरै थिए । सामाजिक सञ्जाल र मिडियामा व्यक्त धारणाले लगानीकर्तालाई निराश बनाएको प्रतित हुन्थ्यो । मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो दिन खुल्ने बजारमा त्यसको ‘नेगेटिभ रिफ्लेक्ट’ हुनु स्वाभाविक थियो ।

तर, परिणाम अर्कै आयो । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबार सुरु भएको १ मिनेट ३१ सेकेन्डमै ४ प्रतिशतले बढ्यो र २० मिनेटका लागि कारोबार बन्द भयो ।

दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक थप १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । दोस्रोपटक सर्किट लाग्दा नेप्से परिसूचकले २७०८.५८ अंक पार गरिसकेको थियो ।

दोस्रोपटक सर्किट लागेर बजार खुलेपछिको १२ मिनेट भित्र परिसूचक ८४ अंकले घट्यो । त्यसपछि बजार केही सम्हालियो । तर, पूरा समय कारोबार भएको बजार ११३.४२ अंकले बढेर २६८१.५६ अंकमा उक्लिएको छ भने वाणिज्य बैंक समूहको सेयर मूल्यमा उछाल आएको छ ।

वाणिज्य बैंक समूहमा रहेका १९ वटा कम्पनीमध्ये १० वटामा सकारात्मक सर्किट लागेको छ भने आठवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर सबैभन्दा कम ८.३ प्रतिशत बढेको छ ।

मौद्रिक नीतिले माग सम्बोधन नगरेको ठहर तत्काल गरे पनि अध्ययन गर्दै जाँदा राष्ट्र बैंकका धेरै नीति सेयर बजारका पक्षमा हुने देखिएपछि लगानीकर्तामा उत्साह छाएको हो । बैंक समूहमा उछाल आउनुका खास कारण छन् :

. संस्थागतको २० करोडको सीमा

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि तोकिएको अधिकतम २० करोडको सीमा खारेज गर्ने व्यवस्था मौद्रिक नीतिमा छ । २० करोडभन्दा ठूलो कर्जा लिएर सेयरमा लगानी गर्ने संस्थागत लगानीकर्ता धेरै नभएको अनुमानका बीच यो व्यवस्थाले सेयर लगानीकर्तामा मनोवैज्ञानिक रूपमा सकारात्मक सन्देश दिएको छ ।

. कर्जा नोक्सानी व्यवस्थामा सहुलियत

राष्ट्र बैंक कर्जा नोक्सानी व्यवस्थामा पनि केही लचक देखिएको छ । मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१ प्रतिशत कायम गरिएको छ । यो व्यवस्थाले ५१ खर्ब ४० अर्ब असल कर्जाको ९० प्रतिशतलाई मात्र आधार मान्दा पनि करिब साढे ४ अर्ब रूपैयाँ प्रोभिजनिङ राइटब्याक हुन्छ भने बैंकहरूको करपछिको नाफा करिब ३ अर्ब रुपैयाँ बढ्छ ।

. नीतिगत दर ०.५ प्रतिशत कम

राष्ट्र बैंकले बैंक दर र नीतिगत दर दुवै समान ०.५ प्रतिशत बिन्दुले घटाएको छ । नीतिगत दरअनुसार ब्याजदर घट्यो भने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ६ प्रतिशतमा आउँछ । ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार घट्ने भएकाले लगानीकर्ताको मनोबल बढेको छ । साथै बैंकमा निक्षेप राख्दा भन्दा बढी फाइदा सेयर बजारबाट लिन सकिने आशा उनीहरुमा पलाएको छ ।

. निष्क्रिय वर्ग कर्जाको वर्गीकरण

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निष्क्रिय वर्ग कर्जाको वर्गीकरणमा लचकता अपनाएको छ । निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्न पाउने र त्यसपछि असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको हो । यसले पनि बैंकहरुको प्रोभिजनिङ राइटब्याक हुने भएकाले नाफा बढ्छ ।

. सानो तथा मझौला कर्जालाई प्रोत्साहन

राष्ट्र बैंकले साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसले बजार चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण भइरहेका छन् । बजार चलायमान भए माग बढ्ने र साना तथा मझौला व्यवसाय बढ्ने हुँदा बैंकको साँवाब्याज भुक्तानी बढ्ने, खराब कर्जा कम हुने र नाफा बढ्ने हुन्छ ।

प्रतिफलमा हुने वृद्धिले बैंकहरूको पुँजी पर्याप्तता अनुपातमा पनि सुधार आउने देखिन्छ । साथै, बजार चलायमान भए अर्थतन्त्रमा सुधार आउने र त्यसले सेयर बजारलाई दिगो वृद्धिको बाटोमा लैजाने विश्वास लगानीकर्तामा छ ।

यसबाहेक राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक वित्तीय संस्थाले आफ्नो लगानी मध्येबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म एक वर्ष अवधि पूरा भएको लगानी बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि, १ प्रतिशतमात्र बेच्न पाउने व्यवस्था थियो । ब्याजदर घटेर एकल अंकमा आइसकेका बेला अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेलको इन्ट्रीले पनि लगानीकर्ताको मनोबल बढाएको छ । असार १६ यता नेप्से परिसूचक ६४४.४७ अंकले बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्