• Menu

अर्थतन्त्रसँगै थला पर्‍यो सेयर बजार, मौद्रिक नीतिपछि तङ्ग्रिने विश्वास

डीआर आचार्य

२०८१ असार २१, शुक्रबार १४:३१

अर्थतन्त्रसँगै थला पर्‍यो सेयर बजार, मौद्रिक नीतिपछि तङ्ग्रिने विश्वास

काठमाडौं । सामान्यतः ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा सेयर बजार बढ्छ । तर, नेपालको सेयर बजार यसपटक अलि भिन्न हिसाबले अघि बढिरहेको छ । ब्याजदर घट्दा पनि सेयर बजारमा कुनै रौनक फर्किन सकेको छैन ।

आर्थिक मन्दीका कारण लगानीका अन्य क्षेत्रमा रुचि नदेखाएका लगानीकर्ताले सेयर बजारप्रति पनि विश्वास गर्न सकेका छैनन् । एक वर्षको तथ्यांक केलाउँदा २०८० असार १९ गते नेप्से परिसूचक २०८८.७ अंकमा थियो ।

नेप्से साउन ७ गते असारयताकै उच्च विन्दु २२२७.१६ अंकमा उक्लियो । कात्तिक १९ मा फेरि असारयताकै न्यून १८२६.२३ अंकमा ओर्लियो । माघ २ गते बजारले २१७५.१७ अंक छोयो । फेरि केही घटेर २०८१ वैशाख २६ गते १९६०.६ अंकमा झरेको बजार असार २० गते २११९.७ अंकमा उक्लिएको छ ।

२०८० असारमा १२.३ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर २०८१ वैशाखमा १०.३४ प्रतिशतमा झरेको छ । २०८१ असारमा अझै तल आएको छ । त्यस्तै यो अवधिमा भारित औसत आधार दर पनि १०.०३ प्रतिशतबाट ८.३४ प्रतिशतमा झरेको छ ।

तर, ब्याजदर न्यून हुँदै जाँदा पनि सेयर बजारमा भने रौनक फर्किन सकेको छैन । सरकार परिवर्तनका बेला हुने तीव्र उतारचढावको समयमा बाहेक अहिले सेयर बजारका बारेमा खासै चर्चा भएको पाइँदैन ।

लगानीकर्ताहरुले सेयर बजार नबढ्नुमा नेपाल राष्ट्र बैंकले लिएका कठोर नीति र गभर्नर महाप्रसाद अधिकारीको अनुदार शैली दोषी देखेका छन् । तर, गभर्नर अधिकारी राष्ट्र बैंकले समग्र वित्तीय प्रणालीका लागि आवश्यकताअनुसार नीति तर्जुमा गर्ने भएकाले सेयर लगानीकर्ताको रुचिमात्रै सम्बोधन गर्न नसक्ने बताउँछन् ।

‘राष्ट्र बैंकले समग्र वित्तीय क्षेत्रको स्थायित्वका लागि नीति तर्जुमा गर्नुपर्छ, कुनै क्षेत्र विशेषलाई हेरेर हुँदैन,’ उनले भने, ‘मुद्रा स्फीति बढेको समयमा कसिलो र कम भएको समयमा लचिलो मौद्रिक नीति लिनुपर्ने हुन्छ ।’

पूर्वबैंकर भुवन दहालको पनि धारण उस्तै छ । राष्ट्र बैंकले सेयर बजारमा कर्जा प्रवाह होस् भनेर प्रोत्साहन गर्न नहुने उनी बताउँछन् । ‘तरलता धेरै भएका बेला ऋण लिएर बजार उचाल्ने र कमाउने भन्ने राम्रो होइन,’ उनी भन्छन्, ‘राष्ट्र बैंकले सेयर कर्जा धेरै प्रवाह नगर भनेर म्यासेज दिइरहेको छ ।’

यद्यपि, राष्ट्र बैंकले सरकार र लगानीकर्ताको दबाबमा सेयर बजारलाई सहज हुने गरी समय–समयमा नीतिगत रुपमा केही लचकता भने अपनाएको छ । राष्ट्र बैंकले २०८० असोजमा ४/१२ को सीमालाई बढाएर १५/२० बनाएको छ । त्यसयता व्यक्तिगत लगानीकर्ता १५ करोडसम्म र संस्थागतले २० करोडसम्म मार्जिन प्रकृतिको कर्जा लिन सक्ने भएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर धितोमा जाने कर्जाको जोखिम भार घटाएको छ । ५० लाखभन्दा ठूलो सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर बजारलाई सहज हुनेगरी अर्को नीतिगत लचकता अपनाएको छ । तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूको लगानीसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको हो ।

अहिले बैंक वित्तीय संस्थाले आफ्नो लगानी मध्येबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म एक वर्ष अवधि पूरा भएको लगानी बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि, १ प्रतिशतमात्र बेच्न पाउने व्यवस्था थियो ।

यससँगै राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति लिएको संकेत गरिरहेको छ । तेस्रो समीक्षामा गरिएको केही व्यवस्थाले विस्तारकारी मौद्रिक नीति लिएको संकेत गर्ने नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् ।

‘तेस्रो समीक्षामार्फत बैंकहरुलाई २० प्रतिशतसम्म लगानी बिक्री गर्न दिइनु, हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्नु, घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ७० प्रतिशत पुर्‍याउनुलगायतले विस्तारकारी नीति लिएको स्पष्ट गर्छ,’ उनले भने, ‘यसले सबै क्षेत्रमा सहजता ल्याउने अपेक्षा गर्न सकिन्छ ।’

कर्जा प्रवाह बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन सहज पुर्‍याउने राष्ट्र बैंकको ध्येयका बीच कर्जाको माग भने बढ्न सकेको छैन । समष्टिगत मागमा सुधार आउन नसक्दा कर्जाको माग बढ्न नसकेको हो । अर्थतन्त्र सुस्त बन्दा सेयर बजारले पनि त्यही लय समातेको छ ।

किन बढ्न सकेन सेयर बजार ?

ब्याजदर लगातार ओरालो लागिरहेको र राष्ट्र बैंकले एक वर्षको अवधिमा केही नीतिगत लचकता अपनाएको परिप्रेक्ष्यमा पनि सेयर बजारमा कुनै आशाको संकेत देखिएको छैन ।

किन त ?

इन्भेस्टर्स फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकको गलत नीतिकै कारण नेपालको सेयर बजारले गति लिन नसकेको बताउँछन् । ‘विश्वका कुनै पनि देशको सेयर बजार परिसूचक यति न्यून विन्दुमा छैन,’ उनले भने, ‘राष्ट्र बैंकले सेयर बजारका सम्बन्धमा लिने नीतिहरु दिगो नभएसम्म बजारले गति लिनै सक्दैन ।’

ब्याजदर घटिरहेको र राष्ट्र बैंकले केही नीतिगत सुधार पनि गरेको भए पनि तर लामो समयदेखि आत्मविश्वास गुमाएका लगानीकर्ताको सेयर बजारमा रुचि फर्किन नसकेको उनको बुझाइ छ । ‘मरणासन्न अवस्थामा पुर्‍याइएका लगानीकर्तालाई यति सानो सुधारले आकर्षित गर्न सक्ने देखिँदैन,’ रौनियार भन्छन्, ‘बजार सानो सुधारले लयमा फर्किंदैन ।’

ब्याजदर यति धेरै घटेको र तरलता पनि फालाफाल भएको अहिलेको अवस्थामा सेयर बजारले निकै उचाइ लिनुपर्ने उनको विश्लेषण छ । ‘तर नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र धितोपत्र बोर्ड तीनवटै निकायको गलत सोच र नीतिका कारण बजारमा कोमामा पुगेको छ,’ उनले भने ।

आगामी मौद्रिक नीतिमार्फत धेरै सहज हुने विश्वास उनले व्यक्त गरे । ‘सेयर बजारका सम्बन्धमा गलत नीति लिनु राजनीतिक कारण पनि थियो,’ रौनियारले भने, ‘नेकपा एमालेसँगको सहकार्य टुटाएर माओवादीले कांग्रेससँग गठबन्धन गरेपछि राष्ट्र बैंकले लिएका नीति हेर्नुभयो भने धेरै स्पष्ट हुन्छ ।’

अब प्रधानमन्त्री र अर्थमन्त्री नेकपा एमालेबाट बन्नेवित्तिकै १५/२० करोडको सीमा पनि हट्ने र मार्जिक प्रकृतिको कर्जाको औसत भार पनि १०० प्रतिशतमा झर्ने उनले बताए । ‘एकै विचारधाराका भएपछि प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिल्छ,’ रौनियारले भने, ‘आगामी दिन सेयर बजारका लागि पनि उज्जवल हुने देख्छु ।’

२०७८ भदौ २ गते नेप्से ३२१८.८६ विन्दुसम्म पुगेको थियो । नेपालको सेयर बजारको इतिहासमा नेप्से परिसूचकको सर्वाधिक उचाइ यही हो । कारोबार बन्द हुँदा भने नेप्से ३१९८.६ अंकमा कायम रह्यो ।

सेयर बजारले बुलिस यात्रा तय गरिरहेका बेला त्यस सयममा २०७८ साउन ३१ गते हालसम्मकै ठूलो परिमाण अर्थात् २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसबेला दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार धेरै दिन भएका थिए ।

नेप्से सर्वाधिक उचाइमा पुगेका दिन पनि २१ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्